असिरियालीमाझ त्रास बढ्दा सिरियामा भीडन्त जारी

  • 25 फेब्रुअरी 2015
तस्वीर कपीराइट AFP
Image caption इस्लामिक स्टेट लडाकुहरुले ठूलो संख्यामा असिरियाली इसाईहरुको अपहरण गरिरहेका छन्

इस्लामिक स्टेटसंग आबद्ध उग्रवादीहरुले अझ धेरै संख्यामा इसाई समुदायका मानिसहरुको अपहरण गरेका ठानिएको उत्तरपूर्वी सिरियामा लडाईं जारी रहेको छ।

असिरियाली इसाई समुदायका मानिसहरुले जनाए अनुसार सोमबार देशको उत्तरपूर्वमा रहेका विभिन्न गाउंहरुमा भएका हमलाहरुका क्रममा दुईसय जना सम्म गैरसैनिकहरुको अपहरण भएको हुन सक्छ।

असिरियाली इसाई समुदायले बेहोर्नु परेको दु:खान्त घटनाका विवरणहरु विस्तारै बाहिर आउन थालेको छ।

अपहरण

निर्वासनमा रहेका सिरियाली इसाईहरुले भने, उनीहरुको अनुमानमा ६० देखि २ सय जना सम्म गैरसैनिकहरु अपहरणमा परेका हुन सक्छन्।

जसमा महिला, बालबालिका र बृद्धहरु समेत छन्।

ती अपहरणका घटनाहरु पछि एकहजार जना भन्दा बढी स्थानीय असिरियाली परिवारहरु आआफ्नो घर छाडी भागेका बताइएको छ।

इसाई मिलिसियाका एकजना कमाण्डरले त आइएसले कब्जामा लिएकाहरुको संख्या त्यो भन्दा निकै धेरै हुन सक्ने दावी गरे र ती मध्ये केहीको ज्यान लिइएको हुन सक्ने अनुमान गरिएको बताए।

कमाण्डर किनो ग्याब्रीएलले अपहरण गरिएका गैरसैनिकहरुलाई अब्दुल अजीज पहाडमा लगिएको हुन सक्ने, तर त्यस्तो यकीन ठेगाना भने आफूलाई थाहा नभएको बताए।

प्रयास

उनका अनुसार अपहरणमा परेकाहरुको संख्या तीनसय पचाससम्म पुग्न सक्छ।

उनले भने, आइएसले त्यस क्षेत्रमा ठूलो संख्यामा लडाकुहरुलाई स्थानान्तरण गरेर ल्याइरहेको छ र तिनीहरुले ताल ताम्र नगरलाई कब्जामा लिने प्रयास गरिरहेको छ।

आइएस लडाकुहरुले हमला गर्न सक्ने आशंका गरिएका अन्य विभिन्न गाउंबाट समेत मानिसहरु भागभाग गर्न थालेका छन्।

यसैबीच आइएस उग्रवादीहरु र स्थानीय कुर्द तथा इसाई मिलिसियाबीच हासाका नगर वरपर लडाईं जारी रहेको छ।