कर तिर्नेको संख्या बढ्दो

  • 26 फेब्रुअरी 2015
तस्वीर कपीराइट AFP
Image caption यो आर्थिक वर्षको पहिलो सात महिनामै लक्ष्य अनुसारको राजश्व संकलन भइसकेको छ

यो वर्ष अहिलेसम्मकै सर्वाधिक संख्यामा नयाँ करदाता थपिएको आन्तरिक राजश्व विभागले जनाएको छ।

विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो ७ महिनामा एक लाख ९० हजार भन्दा बढी नयाँ करदाता थपिएका छन्।

देशका सबै जिल्लामा कार्यालय खोल्न सके करदाताको संख्या र राजश्व संकलन दुवै बढाउन सकिने विभागको भनाइ छ।

हाल आन्तरिक राजश्व विभागका ३० जिल्लामा ४९ वटा कार्यालय रहेका छन्।

संख्या

देशको कूल जनसंख्याको साढे चार प्रतिशत मानिसहरु करको दायरामा रहेको सरकारी तथ्याङक छ।

तर कति जनसंख्या अझै करको दायर भन्दा बाहिर छन भन्ने तथ्याङक उपलब्ध छैन्।

अन्य देशको अनुभवका आधारमा करको दायरामा ल्याउनुपर्ने संख्या थप साढे तिन प्रतिशतको हाराहारीमा हुनु पर्ने बताइन्छ।

यस आर्थिक वर्ष भित्र करको दायरामा दुई लाख ५० हजार जनतालाई ल्याउने लक्ष्य लिइएको छ।

करदाताको संख्या विस्तार गर्न सरकारले विगत देखी नै विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ।

विभागका महानिर्देशक चुडामणी शर्मा भन्छन्, "एक लाख ९४ हजार करदाताहरु औपचारिक कर प्रणालीमा आवद्ध भएका छन्। यो वृद्धि अनुपात सर्वाधिक मान्नु पर्छ।"

अभियान

करदाताको संख्या सँगै राजश्व संकलनमा पनि वृद्धि भएको बताइएको छ।

जसले गर्दा विभागले उठाउने लक्ष्य लिएको करीब १ सय ७० अर्ब को राजश्व संकलन गर्न सकिने अवस्थामा ७ महिनामा नै पुगिएको उनले बताए।

करको दायरमा ल्याउने अभियान चले पनि विभागको ४५ जिल्लामा हाल सम्म आफ्नै कार्यालय छैन।

कोष तथा लेखा नियन्त्रण कार्यालयले अतिरिक्त कामका रुपमा गर्ने गरेको राजश्वको संकलनलाई आफ्नै कार्यालय खडा गरेर संकलन गर्न अध्यन अघि बढाइएको महानिर्देशक शर्माले बताए।

उनी भन्छन्, "त्यसले आफ्नो कार्य करिव करिव अन्तिम चरणमा पूर्याएको छ । उसले आफ्नो रिपोर्ट हामीलाई बुझाइ सकेपछि सरकारलाई सिफारिस गर्ने ढंङगले कार्य भैरहेको छ।"

२०५६ साल देखि स्थायी लेखा नम्बर दिन शुरु भएको थियो।

हाल देशभर १२ लाख करदाता रहेको र ती मध्ये ७ लाखसँग व्यवसायिक स्थायी लेखा नम्बर र ५ लाखसँग व्यक्तिगत स्थायी लेखा नम्बर रहेको बताइएको छ।

मानिसहरुमा चेतना बढदै गएकाले करदाताको संख्या बढेको अधिकारीहरु बताउँछन्।