ब्लगरको हत्यापछि बाङ्गलादेशमा प्रदर्शन

  • 27 फेब्रुअरी 2015
तस्वीर कपीराइट Reuters
Image caption अविजीत रोयको हत्याको विरोधमा प्रदर्शनहरु भएका छन्

बाङ्गलादेशमा धार्मिक कट्टरताका विरुद्ध आवाज उठाउंदै आएका एकजना ब्लगरको राजधानी ढाकामा धारिलो हतियार प्रहार गरी हत्या गरिएपछि सडकमा विरोध प्रदर्शनहरु भएका छन्।

एकजना अनिश्वरवादी अविजीत रोय लाई ढाकामा आयोजित एउटा पुस्तक मेलाबाट आफ्नी श्रीमतीका साथ पैदल फर्कीरहेका बेला आक्रमण भएको थियो।

उक्त घटनाका सम्बन्धमा कसैलाई पनि पक्राउ गरिएको छैन, तर प्रहरीले उक्त हत्याको घटनाको प्रशंसा गरेको एउटा स्थानीय इस्लामवादी समूहमाथि छानबिन गरिरहेको बताएको छ।

बाङ्गलादेशी अमेरिकी अविजीत रोयको हत्याको विरोधमा लेखक, विद्यार्थी तथा शिक्षक लगायतका सैयौं मानिसहरुले राजधानी ढाकाको सडकहरुमा ओर्लिएर शोक तथा विरोध प्रदर्शन गरेका छन्। ‌

हत्या

अनिश्वरवादी धारणाहरुका कारण चर्चित उनलाई बिहीबार बेलुकी राजधानी ढाकामा धारिलो हतियार प्रयोग गरी मारिएको थियो।

उनी एउटा पुस्तक मेलामा भाग लिन आफ्नी श्रीमतीका साथ त्यहां गएका थिए।

उनले धर्म निरपेक्षता र धार्मिक मामिलामा उदारताको प्रचार प्रसार गरेकोमा त्यो इस्लाम विरोधी भएको भन्दै आलोचना भैरहंदा उनलाई ज्यान मार्ने धम्कीहरु पनि आइरहेका थिए।

बेपत्ता

अविजीत रोयका परिवारजनका अनुसार 'मुक्तो मोन' अर्थात 'स्वतन्त्र सोच' नामको आफ्नो बांग्ला भाषाको ब्लगमा धर्मनिरपेक्षता, विज्ञान र सामाजिक मुद्दाहरुमा आफ्ना धारणाहरु प्रकाशित गर्दै आएका थिए र त्यसप्रति उनलाई विभिन्न धम्कीहरु आउने गर्दथ्यो।

प्रहरी प्रमुख सिराजुल इस्लामले एपी समाचार एजेन्सीलाई बताए अनुसार ती दम्पतिमाथि कम्तीमा दुईजना आक्रमणकारीले मासु काट्ने चुप्पीले प्रहार गरेका थिए।

हमला पछि हतियार फालेर आक्रमणकारीहरु भागेका र भीडमा मिसिएर बेपत्ता भएका बताइएको छ।

धार्मिक कट्टरताको विरोध गरेकामा अर्का एकजना ब्लगर अहमद राजीव हैदरको पनि दुई वर्ष अघि हत्या भएको थियो।