'सत्तापक्षमाथि दबाब दिन शक्ति प्रदर्शन’

  • 28 फेब्रुअरी 2015
तस्वीर कपीराइट bbc
Image caption संविधानसभामा प्रकृया अघि बढाइएपछि विपक्षीहरु आन्दोलनमा उत्रिएका छन्

आन्दोलनरत विपक्षी मोर्चाले ठूलो तयारीका साथ भन्दै शनिबार राजधानीमा गर्न लागेको प्रदर्शन शक्तिप्रदर्शन हुने बताएको छ।

आन्दोलनमा उत्रिएको विपक्षी मोर्चाले राजधानीमा आफूहरुले गर्न लागेको ‘शक्ति प्रदर्शन’ को उद्देश्य सत्तापक्षमाथि दबाब दिनु रहेको बताएको छ।

सत्तापक्ष बहुमतीय प्रक्रियामा गएको भन्दै एकीकृत नेकपा माओवादीको नेतृत्वको मोर्चा संविधानसभाको बैठक बहिष्कार गरी आन्दोलनरत छ।

त्यसक्रममा देशका विभिन्न भागका कार्यक्रम सकेर उसकै शब्दमा ‘शक्ति प्रर्दशन’ गर्न लागिएको हो।

खबरदारी

आन्दोलनका कार्यक्रम लिएर जिल्ला गएका नेताहरु कार्यकर्ता र समर्थक लिएर राजधानी फर्किएको मोर्चाले जनाएको छ।

मोर्चाका शीर्ष नेताहरुले सम्बोधन गर्ने उक्त कार्यक्रमले सहमतिमा संविधान निर्माणका लागि सत्तापक्षमाथि दबाब दिने मोर्चाको दाबी छ।

एकीकृत माओवादीका प्रवक्ता दिनानाथ शर्माले भने, "यो आन्दोलन दबाब दिनकै लागि हो, अन्तरिम संविधान, शान्ति-सम्झौता र १२ बुँदे समझदारीबाट बाहिर जान नदिन खबरदारी पनि हो।"

देशभरबाट कार्यक्रममा सहभागी हुन मानिसहरु आउने क्रम विहानसम्म जारी रहेको आयोजकहरुको भनाई छ।

लठ्ठी-भाटा

राजधानीका विभिन्न नाकाहरुबाट जुलुस निकालेर खुल्लामञ्चको सभामा गरिने बताइएको छ।

आफूले गर्ने जुलुस र सभा शान्तिपूर्ण हुने र करिब १ लाख ५० हजार मानिसहरु सहभागी हुने दाबी ३० दलीय मोर्चाको छ।

यही सभाको तयारी भन्दै केही दिन अघि भाटा बोकेका युवाहरुले राजधानीमा जुलुस गर्दा मूकदर्शक बनेको आरोप लागेको गृह प्रशासनले जुलुस र सभालाई सुरक्षा संवेदनशीलताको दृष्टिले हेरेको जनाएको छ।

गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीनाथ ढकालले भने "झण्डा ल्याउनको लागि बन्देज गर्ने कुरा भएन, त्यसबाहेक लठ्ठी र भाटा नियन्त्रण गर्नेछौँ।"

आफूहरुको शक्ति प्रदर्शनपछि सत्तापक्षीय दलहरु सहमतिमा फर्किने विश्वास विपक्षी मोर्चाले गरे पनि सत्तारुढ दलहरुले भने आन्दोलनबाट नभई वार्तामार्फत नै सहमतिको वातावरण बन्ने बताउँदै आएका छन्।