रुसी विपक्षी नेता नम्तसफको गोली हानी हत्या

  • 28 फेब्रुअरी 2015
तस्वीर कपीराइट AFP
Image caption युक्रेनमा रुसी सैनिकको संलग्नताको पनि बरिस नम्तसफले आलोचना गर्दै आएको बताइन्छ

सरकारविरोधी एउटा र्यालीको आयोजना गर्न लागेको दुई दिनअघि रुसका एकजना चर्चित विपक्षी नेता बरिस नम्तसफको राजधानी मस्कोमा गोली हानी हत्या गरिएको छ।

रुसी सञ्चारमाध्यमहरुका अनुसार एउटा कारबाट उनीमाथि चार राउण्ड गोली प्रहार गरिएको थियो।

नम्तसफलाई गोली हानिएपछि उक्त कार लिएर आक्रमणकारी भागेका थिए।

राष्ट्रपति बोरिस येल्टसिन नेतृत्वको सरकारमा उनी उपप्रधानमन्त्री थिए।

उत्तराधिकारी

येल्टसिनको उत्तराधिकारीको रुपमा उनलाई अगाडि सारिएपनि भ्लादिमिर पुटिनको शासनसँग उनी हारे र रुसका एकजना विपक्षी नेताका रुपमा उदाए।

मध्य मस्कोमा नम्तसफमाथि गोली हानिएको आवाज सुनिएको थियो।

उनी एउटा बैठकका लागि जाँदै गरेका बेला गोलीकाण्ड भएको बताइएको छ।

रुसका विपक्षी नेताहरुमध्येका एक नम्तसफ, राष्ट्रपति पुटिनको कटु आलोचक थिए।

गोली प्रहार गरिएको शुक्रबार राति उनी मस्कोमा आईतबारका लागि तय गरिएको एउटा बृहत् र्यालीको तयारीमा रहेको बताइएको छ।

युक्रेनमा विपक्षीहरुकै शब्दमा रुसको सैनिक अभियानविरुद्ध र्यालीको आयोजना गर्ने तयारी थियो।

तस्वीर कपीराइट BBC World Service
Image caption नम्तसफको हत्याको खबरबाट विपक्षी नेताहरुले स्तब्ध भएको बताएका छन्

उक्त र्यालीका आयोजकहरुमध्ये नम्तसफ पनि एक थिए।

मान्यता

रुसको कथित यङ्ग लिबरल्समध्येका एक उनले सन् १९९० को दशकको शुरुतिर अर्थतन्त्रसम्बन्धी संकटमा रहेका बेला तत्कालीन सरकारलाई सघाएका थिए।

त्यसपछि रुसको राजनीतिमा उनी अगाडि बढे।

उदार र लोकतान्त्रिक मान्यतामा उनले आफ्नो विश्वास सधैं कायम राखेको बताइन्छ।

पुटिनको शासनमा पछाडि पारिएपछि ती मान्यताका लागि उनले आफ्नो अभियान जारी राखे।

मस्को नजिकैको एउटा प्रान्तीय शहरमा हालै चलाइएको भ्रष्टाचारविरोधी एउटा चर्चित अभियानमा पनि उनले सहभागिता जनाएका थिए।

उनको हत्याले रुसका विपक्षीहरुको समर्थकहरुलाई स्तब्ध बनाएको बताइएको छ।

प्रहरी अधिकारीहरुले नम्तसफको हत्याबारे अनुसन्धान शुरु गर्न लागिएको बताएका छन्।