विपक्षी नेताप्रति हजारौंद्वारा श्रद्धाञ्जली

  • 1 मार्च 2015
तस्वीर कपीराइट AP
Image caption हजारौं मानिसहरुले दिनभर पुष्पगुच्छा अर्पण गर्दा फूलको एक मिटर अग्लो चाङ्ग बनेको बताइएको छ

हत्या गरिएका रुसका एकजना चर्चित विपक्षी नेता बरिस नम्तसफप्रति युरोपेली संघका राजदूतसहित हजारौं मानिसहरुले राजधानी मस्कोमा श्रद्धाञ्जली अर्पण गरेका छन्।

क्रेमलिन नजिकै मस्कोस्थित उनलाई गोली हानिएको स्थानमा मैनबत्ती र पुष्षगुच्छासहित मानिसहरुले उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन्।

नम्तसफले मस्कोमा आइतबारका लागि तय गरेको र्याली शोक र्यालीमा परिणत भएको छ।

राष्ट्रपति भ्लादिमिर पुटिनले नम्तसफको हत्या उनकै शब्दमा घृणित र निन्दनीय भएको बताए।

वाचा

उनले हत्यारालाई पत्ता लगाइ छाड्ने वाचा समेत गरे।

तर नम्तसफका सहयोगी समूहहरुले उनको राजनीतिक हत्या भएको बताएका छन्।

पुटिन र युक्रेनी द्वन्द्वको विरोधसँग नम्तसफको हत्याको घटना जोडिएको उनीहरुको भनाई छ।

तस्वीर कपीराइट n
Image caption राष्ट्रपति भ्लादिमिर पुटिनले हत्यारालाई पत्ता लगाइ छाड्ने बताएका छन्

रात परेपछि मस्कोस्थित एउटा पुलमा आयोजित श्रद्धाञ्जली सभामा फूलहरुको चाङ्ग एक मिटर अग्लो र दुई मिटर चौडा बनेको थियो।

नियति

गत महिना फ्रेन्च व्यंग्य पत्रिका शार्ली एब्दोका पत्रकारहरु पेरिसमा मारिएपछि समर्थकहरुले हामी सबै शार्ली हौँ लेखिएका प्लेकार्ड बोके झैँ श्रद्धाञ्जली सभाका सहभागीहरुले हामी सबै नम्तसफ हौँ लेखिएको प्लेकार्ड बोकेका थिए।

एकजना सहभागीले भने, “बिना कुनै सन्देह हत्याका लागि पुटिनले निर्देशन दिएका थिए, उनीहरुले हामीलाई यो देखाउन चाहेका छन् कि उनीहरुविरुद्ध उभिने जोसुकैको नियति यस्तै हुनेछ।”

विपक्षी अभियन्ता मार्क गाल्पेरिनले भने, “हाम्रो अभियानलाई समर्थन गर्न मानिसहरु डराइरहेका छन्, विपक्षी नेताहरुले हरेक दिन धम्की पाइरहेका छन् र नम्तसफ त्यसका अपवाद थिएनन् तर उनीहरुले हामीलाई रोक्न सक्ने छैनन्।”

रुसको अनुसन्धान समितिले हत्या गरिनुका संभावित विभिन्न उद्देश्यहरुसँग जोडेर अनुसन्धान गरिरहेको बताएको छ।