संसदीय समितिको बैठकबारे विपक्षीभित्र मतभेद

  • 3 मार्च 2015
Image caption शक्ति प्रदर्शन लगत्तै विपक्षी मोर्चाभित्र संसदीय समितिको बैठकलाई लिएर मतभेद देखिएको हो

संविधानसभा वहिष्कार गरेको विपक्षी मोर्चाका दलहरुबीच व्यवस्थापिका संसदका समितिहरुको बैठकमा जाने कि नजाने भन्ने विषयमा मतभेद देखा परेको छ।

एकथरी दलहरु संविधानसभा र संविधानसभाका समितिहरुमा मात्र नजाने निर्णय मोर्चामा भएकाले आफुहरु संसदीय समितिका बैठकमा जाने बताएका छन्।

तर सरकारका हरेक गतिविधिलाई असहयोग गर्ने निर्णय मोर्चाले गरेको भन्दै बैठकमा जान नहुने धारणा अर्काथरी दलहरुको छ।

कारण

संविधानसभा वहिष्कार गरेपछि विपक्षीमोर्चाका सभासद संसदका समितिका बैठकमा समभागी भएका थिएनन्।

तर सोमबार बसेको राज्यव्यवस्था समितिको बैठकमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका प्रमुख सचेतक रामजनम चौधरी सहभागी भएपछि मोर्चाभित्र मतभेद देखा परेको हो।

मोर्चामा व्यवस्थापिका संसदका समितिहरुको बैठकमा नजाने निर्णय नभएकाले बैठकमा गएको चौधरीले बताए।

उनले भने "व्यवस्थापिका संसदको समितिमा जाने हाम्रो पार्टीको निर्णय भएकाले गएको हुँ। समितिको सभापति रहेका हाम्रो पार्टीका सभासदले पनि बेला-बेला समितिको बैठक बोलाइ रहनु भएको छ।"

उस्तै मत

सदभावना पार्टीका सभासद लक्ष्मणलाल कर्ण पनि बैठकमा सहभागी हुने विषयमा मोर्चामा निर्णय नभएको बताउँछन्।

तस्वीर कपीराइट bbc
Image caption संविधान लेखनको प्रकृया थालिएपछि संविधानसभामा बहिष्कार गरी विपक्षीहरु सडकमा उत्रिएका छन्

उनले आफ्नो पार्टीले कुनै निर्णय नगरिसकेको र आफ्ना सभासद रहेको समितिको बैठक बोलाइए त्यसबारे विचार गर्ने बताए।

तराई-मधेस लोकतान्त्रिक पार्टीका सभासद सर्वेन्द्रनाथ शुक्लले नजाने भन्ने आफ्नो पार्टीको कुनै निर्णय नरहेको र बैठक बसेर यस विषयमा छिट्टै निर्णय गरिने बताए।

मोर्चाकै अर्को दल संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) की सभासद रुक्मिणी चौधरीले बैठकमा नजाने सहमति मोर्चामा भएको तर अब धेरै दिन बैठकमा सहभागी नभइ बस्ने स्थिति नरहेको बताइन।

उनले भनिन्, "बहिष्कार कतिदिन गर्ने? बैठक बोलाए भने जाने सम्भावना रहन्छ।"

फरक मत

तर मधेसी जनअधिकार फोरमका सभासद अभिषेकप्रताप साहले मोर्चाले सरकारका हरेक गतिविधिलाई असहयोग गर्ने भद्र सहमति रहेकाले आफुहरु त्यसमा कायम रहेर बैठकमा नजाने बताए।

उनले भने "हामी एक्लै गएर त्यो भद्र सहमतिको अवज्ञा गर्दैनौं।”

मोर्चाको नेतृत्व गरी रहेको एकीकृत माओवादीको संसदीय दलका प्रमुख सचेतक गिरिराजमणि पोखेरलले व्यवस्थापिका संसदका समितिका बैठमा सहभागिताबारे के गर्ने भन्ने निर्णय होली पर्व पछि गरिने बताए।

उनले भने, "हाम्रा सभासदहरु जिल्लातिर जानु भएको छ, हामी होली सकिने बितिकै निर्णय लिन्छौं।”

दलहरुबीचको मतभेदका माझ विपक्षीमोर्चाको वहिष्कारका कारण संसदीय समितिका बैठकहरु प्रभावित भइरहेका थिए।