'संविधानसभा स्थगनको औचित्य पुष्टी गर'

  • 3 मार्च 2015
तस्वीर कपीराइट Surendra Phuyal
Image caption विपक्षी मोर्चाको बहिष्कारले गर्दा थुप्रै विधेयकमाथिको छलफल प्रभावित भएको छ

सत्तापक्ष र विपक्षी दलहरु सहमतिमा पुग्न नसकिरहेका बेला संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधानसभाको बैठक स्थगनलाई निरन्तरता दिनुको औचित्य पुष्टि गर्न प्रमुख दलहरुको ध्यानाकर्षण गराएका छन्।

उनले सहमतिको नाममा अनन्तकालसम्म संविधानसभाले ‍आफ्नो प्रकृया रोक्न नसक्ने भन्दै आफूले संविधानसभाको बैठकको मिति तोक्न समयसीमा निर्धारण गर्ने अवस्था नआओस भन्दै दलहरुलाई सचेत पनि गराएका छन्।

संविधानसभाको बैठक बहिस्कार गरिरहेको एकीकृत माओवादीले अवरुद्ध संविधान लेखन प्रकृया सुरु गर्ने विपक्षी मोर्चालाई वार्तामा ल्याउन सभाध्यक्षले नै पहल गर्नुपर्ने बताएको छ।

संविधानसभा स्थगित भएको १९ औं दिनमा सभाध्यक्ष सुवास नेम्वाङले प्रमुख सात दलका प्रमुख सचेतकहरुलाई मंगलबार बोलाएर संविधानसभाको बैठकबारे उनीहरुमार्फत दलहरुको ध्यानाकर्षण गराएका हुन्।

आग्रह

माघ २९ गते विपक्षी मोर्चा र सत्ताधारी दलहरुको आग्रह अनुसार आफूले संविधानसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरे पनि अहिलेसम्म केही पहल भएको नदेखिएकोले यस्तो आग्रह गर्नुपरेको उनले बताए।

समय नतोकी दलहरुको ध्यानाकर्षण गराएका सभाध्यक्ष नेम्वाङले दलहरुलाई आफैँले समय तोक्ने दिन नआओस् भन्नेमा सचेत गराएका छन्।

उनले भने, “अहिले मैले यो मितिभित्र भनेको छैन तर उपयुक्त समयभित्रै निष्कर्षमा पुग्नुपर्छ, हामीले देश र जनतालाई ब्यहवारबाट संविधानसभा स्थगनको औचित्य स्थापित गरेर देखाउनुपर्छ, मैले मिति तोक्ने दिन पनि आउला।”

तर सभामुखको यस्तो ध्यानाकर्षण पछि विपक्षी मोर्चाले भने माघ ११ गते सभामुखले प्रस्ताव निर्माण समिति गठन गरेर संवादहीनताको यो स्थिति आएको भन्दै अब शीर्ष तहमा पनि वार्ताका लागि उनैले भुमिका खेल्नुपर्ने बताएको छ।

निर्णय

एकीकृत माओवादीका प्रमुख सचेतक गिरिराज मणि पोखरेलले भने, “माघ ५ देखि माघ ११ सम्म पृष्ठभागमा कांग्रेस एमाले भए पनि अग्र भागमा उहाँ नै हुनुहुन्थ्यो र बिग्रिएको उहाँकै कारणले हो त्यसैले वार्ताको लागि शिर्ष तहमा पनि सभामुखले नै भुमिका खेल्नुपर्छ।”

दोस्रो ठूलो दल नेकपा एमालेले संविधान लेखनको प्रकृया अघि नबढाइए आफू सरकारमा बस्नुको अर्थ नहुने चेतावनी सोमबार दिएको थियो।

त्यस्तो चेतावनीपछि मंगलबार साझा धारणा बनाउन भन्दै बसेको दुईदलको बैठकले सभाध्यक्षलाई संविधानसभाको प्रकृया अगाडि बढाउन पहल गर्ने निर्णय गरेको छ।

सहमतिका लागि विपक्षी मोर्चा तत्पर नभए प्रकृयाबाट अगाडि बढ्नुको विकल्प नभएको सत्ताधारी दलहरुले बताउँदै आएका छन्।