संसदमा महत्वपूर्ण विधेयकहरु रोकिए

  • 4 मार्च 2015
तस्वीर कपीराइट Bal Krishna Thapa
Image caption विपक्षीहरुले तोडफोड गरेयता संसद प्रक्रिया अगाडि बढ्न नसकेको बताइएको छ

राजनीतिक गतिरोध लम्बिएसँगै संसदको हिउँदे अधिवेशन डाक्न भएको ढिलाइका कारण एक दर्जनभन्दा बढी महत्वपूर्ण विधेयकहरु अघि बढ्न नसकेको अधिकारीहरुले बताएका छन्।

संसदीय समितिहरुबाट टुंगो लागेका तथा छलफलका क्रममा रहेका यस्ता प्रस्तावित विधेयकहरुबाहेक पनि सरकारले संसद सचिवालयमा नयाँ विधेयक दर्ता गराउने क्रम पनि चलिरहेको बताइएको छ।

कुनै बाध्यात्मक व्यवस्था नभएपनि संसदको हिउँदे अधिवेशन सामान्यतया: फागुनको शुरुवातबाटै थालिसक्नुपर्ने थियो।

तर आन्दोलनमा होमिएको विपक्षी मोर्चाले संसदमा अवरोध सिर्जना गर्न सक्ने आँकलनमा सरकार, पछिल्लो राजनीतिक गतिरोध नसुल्झेसम्म अधिवेशन डाक्ने प्रक्रिया थाल्न हिच्किचाए जस्तो देखिन्छ।

टुंगो

यस्तो ढिलाइले कतिपय महत्वपूर्ण विधेयकहरु अल्झिएको बताउँछन् कानूनमन्त्री नरहरि आचार्य।

उनले भने, "केही विधेयक समितिमा छन्, गइसकेका विधेयक गर्दा १२ देखि १५ वटा पुग्छ, संभवतः दुई हत्ताभित्र विधेयक अधिवेशन कहिलेदेखि शुरु हुन्छ भन्ने कुराको टुंगो लाग्नेछ।"

तर त्यस्तो मिति सत्तापक्षीय दलहरु र विपक्षी मोर्चाबीचको औपचारिक संवादले लिने दिशामा निर्भर रहने ठानिएको छ जुन संवाद अझैपनि अन्योलमै छ।

औपचारिकता

दुई वटा विशेषसहित १४ वटा संसदीय समितिमध्ये चारवटाको नेतृत्व विपक्षी मोर्चाका दलहरुले गरिरहेका छन् र तीमध्ये पनि एउटालाई छाडी अरुले बैठक डाकेका छैनन्।

जसका कारण महत्वपूर्ण विधेयकहरुमाथिको छलफल अघि बढ्न नसकेको अधिकारीहरु बताउँछन्।

मुलुकी ऐन संशोधन गर्न प्रस्ताव गरिएका ५ वटा जति विधेयकहरुमाथि विधायन समितिमा छलफल नै हुन सकेको छैन् भने संसदीय समितिहरुबाट अनुमोदित निजामति सेवा ऐन संशोधन जस्ता बहुप्रतीक्षित विधेयकहरुले पनि अधिवेशन सुरु नहुँदा औपचारिकता पाउन सकेका छैनन्।