इरान सम्पूर्ण विश्वका लागि खतराः नेतन्याहु

  • 4 मार्च 2015
तस्वीर कपीराइट Getty
Image caption बेन्जमिन नेतन्याहुले कंग्रेसलाई संबोधन गर्दा सदस्यहरु उनको सम्मानमा उठेका थिए

अमेरिकी कंग्रेसलाई संबोधन गर्दै इजेरली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले इरानको परमाणु कार्यक्रमबारे अहिले छलफलमा रहेको सम्झौताले उसलाई परमाणु अस्त्र बनाउनका निम्ति मार्ग प्रशस्त गरिदिने दाबी गरेका छन्।

उनले छलफलमा रहेको उक्त सम्झौताले परमाणु अस्त्र बनाउनका लागि इरानलाई नरोक्ने बताए।

अमेरिकी कंग्रेसलाई संबोधन गरिरहँदा नेतन्याहुको सम्मानमा सांसदहरु उठेका थिए।

उनले इरान उनकै शब्दमा सम्पूर्ण विश्वका लागि खतरा भएको बताए।

म्याद

मार्चको अन्त्यसम्म इरानको परमाणु कार्यक्रमबारे सहमतिमा पुगिसक्नुपर्ने म्याद घर्किदै गएको छ।

इजरेलमा निकै प्रतिस्पर्धात्मक हुने भनिएको निर्वाचनको दुई साताअघि नेतन्याहुको पछिल्लो भनाई आएको हो।

आफ्नो संबोधनमा उनले अमेरिकाको आन्तरिक राजनीतिमा आफूले हस्तक्षेप गर्ने प्रयत्न नगरेको बताए।

ह्वाइट हाउससँग कुनै परामर्श नै नगरी रिपब्लिकनहरुको निम्तोमा कंग्रेसलाई संबोधन गर्ने नेतन्याहुको कदमको उसले आलोचना गरेको छ।

तस्वीर कपीराइट .
Image caption नेतन्याहुको संबोधनबाट ओबामा प्रशासन रुष्ट बनेको बताइन्छ

नेतन्याहुले इरानसँगको कुनैपनि सम्झौताको विपक्षीद्वारा विरोध गराउने प्रयास गरिरहेको ह्वाइट हाउसको भनाई छ।

विकल्प

उनको संबोधनपछि राष्ट्रपति बराक ओबामाले संबोधनमा उनकै शब्दमा केही नयाँ कुरा नपाएको पत्रकारहरुलाई बताए।

उनले भने, “इरानलाई परमाणु अस्त्र निर्माण गर्नबाट कसरी रोक्न सकिन्छ भन्ने मुख्य मुद्दामा संभावित कुनै विकल्पबारे उनको संबोधनमा केही उल्लेख भएन।”

अमेरिका, ब्रिटेन, फ्रान्स, जर्मनी, रुस र चीनले इरानको परमाणु कार्यक्रम कटौती गर्ने विषयमा सहमतिमा पुग्ने प्रयास गरिरहेको बताइन्छ।

त्यसको सट्टा इरानमाथि लगाइएका प्रतिबन्धहरु खुकुलो गरिने उनीहरुको भनाई छ।

परमाणु अस्त्र बनाउने इरानको महत्वकांक्षाबाट उनीहरु भयभित रहेको बताइएपनि इरानले परमाणु ऊर्जाका लागि काम गरिरहेको भन्दै उक्त आरोप अस्वीकार गर्दै आएको छ।