दुर्घटनापछि विमान हटाउन नसक्दा उडान रद्द

  • 4 मार्च 2015
तस्वीर कपीराइट Hemanta Shrestha
Image caption उक्त घटनाबारे छानबिन गर्न सरकारले समिति गठन गरेको छ।

काठमाण्डू विमानस्थलमा अवतरणका क्रममा टर्किस् एअरलाइन्सको एउटा विमान धावनमार्गमै दुर्घटनामा परेपछि आउने र जाने गरी ८० वटा अन्तर्राष्ट्रिय उडान रद्द भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

दुर्घटना भएको विमान धावनमार्गबाट हटाउन नसकेका कारण बन्द भएको अन्तर्राष्ट्रिय उडानहरु बिहीबार अबेरबाट सुरु गर्ने प्रयास भइरहेको अधिकारीहरुको भनाइ छ।

बिहान झन्डै ८ बजे अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर दुर्घटना भएको उक्त विमानलाई धावनमार्गबाट हटाउन नसके पछि बुधबार साँझ ५ बजे सम्मका लागि अन्तर्राष्ट्रिय उडानहरु स्थगित गरिएका थिए।

रद्द

उक्त सूचना जारी गरेको नागरिक उड्डयन प्राधिकरणले बुधबार साँझ पुन: अर्को सूचना जारी गर्दै बिहीबार अपरान्हसम्मका लागि अन्तर्राष्ट्रिय उडानहरु रद्द गरिएको जनाएको थियो।

जहाज हटाउन नसक्नुको कारणबारे जानकारी दिँदै नागरिक उड्डयन प्राधिकरण टर्मिनल व्यवस्था महाशाखाका प्रमुख टेकनाथ सिटौलाले भने, "ठूलो जहाज भएको र त्यसका पाङग्राहरु सबै क्षति ग्रस्त भएकाले त्यसलाई पाङग्रा फेरेर हटाउने अवस्था भएन र विमानलाई सार्ने मेशिन हामीसँग छैन।"

जहाजलाई हटाउने मेशिन भारतको मुम्बइमा भएको जानकारी प्राप्त भएको र त्यहाँबाट ल्याउने प्रयासमा प्राधिकरण जुटिरहेको सिटौलाले बताए।

दिनभर विमाननस्थलको धावनमार्ग सञ्चालन नहुँदा उडान र अवतरण गर्ने ८० वटा अन्तर्राष्ट्रिय उडान रद्द भएको प्राधिकरणले जनाएको छ।

जसका कारण करीब ६ हजार अन्तर्राष्ट्रिय र १ हजार भन्दा बढी आन्तरिक उडानका यात्रुहरु प्रभावित भएको प्राधिकरणका प्रबन्धक पूर्ण चुँडालले बताए।

रोष

तस्वीर कपीराइट netra kc

धावनमार्ग खुल्छ र यात्रामा जान पाइन्छ भनेर दिनभर कुरेका यात्रुहरुले साँझ अबेरसम्म पनि धावनमार्ग नखुलेको भन्दै रोष प्रकट गरे।

एक यात्रुले भने, "हामीहरु अलपत्रमा परेका छौं नेपाल सरकारले राम्रो सँग व्यवस्था गर्नुपर्थ्यो। अब हटाउन क्रेन आउँछ भन्छन् कहिले आँउछ आँउछ।"

विमानस्थलको ५ हजार फिट सम्मको धावनमार्ग भने खुल्ला रहेकाले आन्तरिक उडानमा रहेका साना जहाजले दिउँसो देखिनै नियमित उडान सुरु गरेका थिए।

तर त्यति मात्र धावनमार्गको लम्बाइले उडान भर्न नसक्ने आन्तरिक उडानका कतिपय जहाजहरुको उडान पनि स्थगित भएको थियो।