सिरियामा पुन: भीषण संघर्ष सुरु

  • 5 मार्च 2015
तस्वीर कपीराइट Reuters
Image caption सन् २०१२ को मध्य देखि सिरियामा लडाई सुरु भएको थियो।

सिरियामा विद्रोहीहरुले देशको गुप्तचर निकायको मुख्यालयमा हमला गरेपछि सरकारी सेनाले अलेप्पो शहरमा पुन: हमला गरेको छ।

सेनाले त्यहां विद्रोही नियन्त्रित क्षेत्रमा हेलिकप्टरबाट ब्यारेल बम खसालेको बताइएको छ।

उक्त घटनामा कम्तीमा १८ जनाको ज्यान गएको बताइएको छ।

बुधबार विद्रोहीहरुले हमला गरेका, सिरियाली वायु सेनाको गुप्तचर मुख्यालय नजीक रहेको अलेप्पो शहरमा भीषण संघर्घ भइरहेको बताइएको छ।

हमला

एक सुरक्षा सूत्रका अनुसार सरकारी सेनाले बिहीबार बिहान शहरको पश्चिममा अवस्थित विद्रोही ठेगानाहरुमा हमला गरेको छ।

त्यस क्षेत्रमा भएको हताहतिका विवरणहरु प्राप्त भएका छैनन्, तर शहरका अन्य भागमा सेनाले ब्यारेल बम हमला गरेको स्थानमा भने कम्तीमा १८ जना गैरसैनिकहरुको ज्यान गएको बताइएको छ।

उक्त ब्यारेल बम, पेट्रोल र डिजेल इन्धन बेच्ने पसलमा खसेको,अधिकारवादीहरुले बताएका छन्।

अलेप्पो स्थित हवाइ सेनाको गुप्तचर मुख्यालयलाई नियन्त्रण लिने प्रयास विद्रोहीहरुले सिरियाको उक्त दोस्रो ठूलो शहरमा द्वन्द्व शुरु भएको बेला देखि नै गरिरहेका थिए।

असफल

बुधबार उक्त मुख्यालय परिसरको भवन मुनि सुरूंग बनाई त्यहां ठूलो मात्रामा विस्फोटक पदार्थ राखी पडकाइएको थियो।

त्यसपछि अलकायदा सम्बद्ध अल नुस्रा मोर्चाका लडाकुहरु र कट्टरपन्थी इस्लामवादी विद्रोही समूहले गरेको स्थलगत हमलालाई सेनाले असफल तुल्याइ दिएको थियो।

त्यस क्षेत्रमा बिहीबार बिहानै देखि चर्को भीडन्त भएको थियो र दुवै पक्षले एकअर्कामाथि गोलाबारी गरिरहेको ब्रिटेनस्थित सिरिएन अब्जरभेट्री फर ह्युमन राइट्सले जनाएको छ।

सिरियामा लडाईं शुरु भएयता अलेप्पो शहर सरकारी सेना र विद्रोहीहरु लडाकुहरुबीच विभाजित रहेको छ।