असिरियाली शहरमा बुलडोजर लगाइएकोमा निन्दा

  • 6 मार्च 2015
तस्वीर कपीराइट AFP
Image caption निमरुड इराकको सबैभन्दा चर्चित र महत्वपूर्ण पुरातात्वीक सम्पदा हो

इराकी अधिकारीहरुले भनेका छन्, इस्लामिक स्टेटका उग्रवादीहरुले प्राचिन असिरियाली शहर निमरुडलाई बुलडोजर लगाएर ध्वस्त पार्दैछन्।

निमरुड प्राचिन असिरियाली साम्राज्यको राजधानी थियो र त्यो इराकको सबैभन्दा चर्चित र महत्वपूर्ण पुरातात्वीक सम्पदा हो।

उक्त जिहादी समूहले त्यहां भएका सामग्रीहरु गैरईस्लामीक हुन् भन्दै ती पुराना कुराहरुले आफ्नो धार्मिक सम्वेदनाहरुलाई अपमानित गरेको बताउने गरेको छ।

उक्त कदमको राष्ट्रसंघको सांस्कृतिक निकायले निन्दा गरेको छ।

बर्बर

इराकी अधिकारीहरुले भनेका छन् आइएसका उग्रवादीहरुले, मोसुल शहरको दक्षिणमा अवस्थीत टीग्रीस उपत्यकामा रहेको उक्त प्राचिन सम्पदास्थलमा प्रवेश गरेर, बुलडोजर जस्ता ठूलो र भारी उपकरणको प्रयोग गरी विध्वंस मच्चाएका थिए।

किरकुक शहरका गभर्नर नजमल्दीन करिमले बीबीसीसंग भने, “यो ती उग्रवादीहरु कति बर्बर प्रकृतिका मानिसहरुको समूह हो भन्ने कुराको एउटा नमूना हो। तिनीहरुको अभियान नै मृत्यु र ध्वंस फैलाउनु हो। यस्तो कार्यलाई बर्बरता बाहेक अरु शब्दले बयान गर्न सकिंदैन।”

निमरुड शहर मोसुलभन्दा ३० किलोमिटर दक्षिण पूर्वमा पर्दछ।

त्यहां फेला परेका धेरैजसो पुराना कलाकृतिहरु बग्दाद र विदेशका संग्रहालयहरुमा राखिएको छ, तर स्थलमा थुप्रै त्यस्ता महत्वपूर्ण बस्तुहरु कायमै थिए।

एकजना पुरातत्वविद लमिया अल गैल्हानीले बीबीसीसंग कुरा गर्दै निमरुड विश्व इतिहासकै एउटा महत्वपूर्ण सम्पदा भएको बताईन्।

“ती मूर्तिहरु हामीले पूजा गरेसरी मान्ने बस्तुहरु हुन्। तिनीहरु हाम्रा पहिचान हुन्। हामी मानिस हौं, पशु होइनौं। पशुलाई मात्र आफ्नो इतिहासका बारेमा चासो वा चिन्ता हुंदैन। मानिसलाई आफ्नो इतिहास प्यारो हुन्छ, त्यो नै मानिस र पशुबीचको भिन्नता हो।”

निन्दा

संयुक्त राष्ट्र संघको सांस्कृतिक निकाय युनेस्कोले उत्तरी इराकस्थित प्राचिन असीरियाली शहर निमरुडलाई इस्लामिक स्टेटका उग्रवादीहरुले ध्वस्त पारेको कार्यको कडा निन्दा गरेको छ।

युनेस्कोकी प्रमुख इरिना बोकोभाले, त्यसरी जानाजान देशको सांस्कृतिक धरोहर ध्वस्त पार्नु युद्ध अपराध सरह भएको बताएकी छिन्।

उनले यो घटनाबाट इराकी संस्कृति र समाजकै अस्तित्व संकटमा परेको बताइन्।

“यो इराकी जनता विरुद्धको अर्को हमला हो। त्यहां चलिरहेको सांस्कृतिक सफाया गर्ने कार्यबाट केही कुरा पनि सुरक्षित छैन। त्यसबाट मानिसहरुको ज्यान, अल्पसंख्यकहरु निशानामा परेका छन् र मानवजातिको प्राचिन इतिहासलाई सुनियोजीत तरिकाले ध्वस्त पारेर त्यसको संकेत दिइएको छ।”

आइएसका उग्रवादीहरुले नजीकको मोसुल शहरको संग्रहालयमा रहेका प्राचिन मूर्ति र कलाकृतिहरु फुटाएको भिडियो सार्वजनिक गरिएको एक हप्ता पछि नै निमरुडलाई ध्वस्त पारेका हुन्।

तिनीहरुले आफ्नो नियन्त्रणमा रहेका स्थानहरुका थुप्रै धार्मीक स्मारकहरु नष्ट गरेका छन्, त्यसमा ईस्लाम धर्मसंग सम्बन्धित बस्तुहरु पनि परेका छन्।

ती उग्रवादीहरुका अनुसार त्यस्ता मूर्ति र स्मारकहरु गैरईस्लामी हुन् र त्यसबाट तिनीहरुको परमेश्वरको अपमान हुने गर्दछ।