टर्किस् विमानलाई हटाउने प्रयास जारी

  • 6 मार्च 2015
टर्किस् विमान तस्वीर कपीराइट ap
Image caption टर्किस विमानलाई जोतिएको स्थानबाट हटाएर शुक्रबारै विमानस्थल खोल्ने अधिकारीहरुको तयारी छ

नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग नजिकैको चौरमा फसेको टर्किस् एअरलाइन्सको विमानलाई हटाउने प्रयास सम्भवत शुक्रबार अपरान्हसम्ममा पुरा हुनेछ।

भारतबाट झिकाइएका प्राविधिक तथा ठूलो बेलुन जस्ता उपकरणहरुको सहायताले बिहिबार राति टर्किस् विमानको चौरमा जोतिएको अगाडीको पाङ्ग्रा झिकिएको अधिकारीहरुले बताए।

'ट्रकको सहायता'

अब सो विमानलाई ट्रकको सहायताले पार्किङ क्षेत्रमा पुर्याउँनको निम्ति विभिन्न उपायहरुबारे छलफल भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतिशचन्द्र लाल सुमनले बीबीसी नेपाली सेवालाई बताए।

“हामी ट्रकको प्रयोग गरेर अगाडीको भागलाई सपोर्ट दिएर विमानलाई गुडाउने सोचमा छौं,” सुमनले भने – “भत्किएको चौरमा त्यस निम्ति बाटो बनाउने काम भइरहेको छ।”

बुधबार इस्तानबुलबाट काठमाण्डू आएको सो विमानमा सवार सबै यात्रुहरु सकुशल छन्।

तर विमान धावनमार्ग नजिकै अड्किएकोले विमानस्थलबाट कुनै पनि अन्तर्राष्ट्रिय उडान हुन सकेका छन् जस्का कारण हजारौं यात्रुहरु प्रभावित भएका छन्।

अधिकारीहरु टर्किस विमानलाई जोतिएको स्थानबाट हटाएर शुक्रबार अपरान्हबाट विमानस्थल खोल्ने तयारीमा छन्।