उडानको चापले व्यवस्थापनमा कठिनाइ

  • 8 मार्च 2015
Image caption चार दिन विमानस्थल अवरुद्ध भएपछि वैकल्पिक विमानस्थलको विषयले चर्चा पाएको छ

चारदिनको अवरोधपछि शनिबार साँझबाट खुलेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार दिनभर आउने र जाने उडानहरुको चाप व्यवस्थापनमा कठिनाइ देखिएको छ।

चापका कारण विमानस्थलमा विमान राख्ने स्थान नभएको तथा कतिपय विमानहरु आकाशमै केही घण्टा कुर्नुपर्ने अवस्था आइपरेको अधिकारीहरुले बताएका छन्।

स्थगित तथा नियमित उडानहरुको प्रतीक्षामा बस्नेहरुको ठूलो भीड आइतबार विमानस्थल तथा विमानसेवाका कार्यालयहरुमा देखिन्थ्यो।

विमानस्थल खुलेपछि, यसअघि अवरुद्ध तथा नियमित उडानहरुको चाप एकैचोटि व्यवस्थापन गर्नुपर्दा कठिनाइहरु आएको अधिकारीहरुले बताएका छन्।

कठिनाइ

प्राधिकरणका महानिर्देशक रतिशचन्द्र लाल सुमनले भने, "उडानहरुको संख्या बढाएपछि आउने/जाने विमान र यहाँ कुर्ने यात्रुहरुको व्यवस्थापनमा ठूलो समस्या देखिएको छ, अब यो व्यवस्था नहुँदासम्म हामी निरन्तर उडान गरिरहन आउँदो बिहीबारसम्म उडान जारी राख्छौं।"

विमानस्थलमा मात्रै होइन विमानसेवाहरुका काठमाडौंस्थित कार्यालयहरुबाहिर पनि आइतबार यात्रुहरुको ठूलो भीड देखिन्थ्यो।

खासगरी श्रमका लागि खाडी मुलुक जाने युवायुवतीहरु आफ्नो उडानबारेको अन्योलले चिन्तित देखिन्थे।

केही यात्रुले बुधबारदेखि विमानस्थल आउँदै दिनभर कुरेर फर्कँदै गरेको गुनासो पोखे।

केहीले भने म्यानपावरले उडान हुन्छ भनि विमानस्थल पुगे पनि उडानको टुंगो नलागेको बताए।

गुनासो

विदेश जानेमात्रै होइन, विदेशबाट स्वेदश फर्कन लागेका आफन्तलाई कुर्नेको गुनासो पनि फरक छैन।

एकजना यात्रुकी आफन्तले भनिन्, "छोरी आउँछे भनेर चार दिन भयो यहाँ आउँदै जाँदै गरेको, कुर्दा कुर्दा केही पत्तो छैन कुनबेला आउने हो। यहाँ पनि केही भनेका छैनन्।"

तर व्यवस्थापनका लागि भने आफूहरुले यथेष्ट कामहरु गर्दागर्दै पनि उडानको संख्या बढेकाले कतिपय विमानलाई आकाशमै कुराउनुपरेको तथा पर्याप्त स्थान अभावका कारण अवतरण गरेका विमानहरुलाई राख्न पनि समस्या परिरहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक आउने जाने गरि ८० वटा उडान हुने गर्छ।

तर चारदिनसम्मको अवरोध खुलेपछि चौबीसै घण्टा सेवा चालू राखेको विमानस्थलले त्यो भन्दा धेरै संख्यामा उडान ब्यवस्थापन गरी राखेको प्राधिकरणले जनाएको छ।