एमएच ३७० विमानबारेको प्रतिवेदन अस्वीकार

  • 8 मार्च 2015
तस्वीर कपीराइट
Image caption विमान हराएको एक वर्षमा यात्रुका आफन्तले सम्झनामा कार्यक्रम गरेका छन्

मलेसिया एयरलायन्सको एमएच ३७० विमान हराउनुको कारणबारे मलेसियाली सरकारले सार्वजनिक गरेको प्रतिवेदन कतिपय यात्रुका आफन्तहरुले अस्वीकार गरेका छन्।

ठ्याक्कै एक वर्षअघि हराएको उक्त विमानमा चालक दल तथा मर्मतसम्भारसंग सम्बन्धित कुनै समस्या नरहेको विवरण उक्त प्रतिवेदनमा उल्लेख गरिएको थियो।

उक्त अन्तरिम प्रतिवेदनले विमानलाई के भएको भन्नेबारे प्रष्ट बताएको छैन।

थुप्रै प्राविधिक विवरणहरु समेटिएको उक्त प्रतिवेदनले फ्लाइट डाटा रेकर्डरमा रहेको ब्याट्री एक वर्षअघि नै सकिएको उल्लेख गरेको छ।

टिप्पणी

तर त्यसले खोजी कार्यमा असर पारेको वा नपारेको भन्नेबारे खुलाइएको छैन।

यात्रुका कतिपय आफन्तहरुले उक्त प्रतिवेदनलाई काम नलाग्ने भनी टिप्पणी गरेका छन्।

त्यस्तैमध्येकी एक जनाले भनिन्, "यो प्रतिवेदन हाम्रा लागि काम नलाग्ने छ। जनवरीमा मलेसिया सरकारले यो घटना एउटा दुर्घटना भएको भनी गरेको घोषणा हामी स्वीकार गर्दैनौं।"

हराइरहेको विमानका एक यात्रुकी नातेदारले भनिन्, "म मलेसियालाई त्यो घोषणा फिर्ता लिन आग्रह गर्छु, नभए उक्त विमानलाई के भएको भन्ने प्रमाण दिनुपर्यो।"

मलेसिया सरकारले एमएच ३७० हराएको भन्दै क्षतिपूर्ति प्रक्रिया थालेको थियो।

आरोप

तर कतिपय यात्रुका परिवारले मलेसिया सरकारले तथ्य लुकाएको आरोप लगाएका छन्।

मलेसिया सरकारले कुनै पनि अनुमानहरुमा विश्वास नगर्न अपील गरेको छ।

क्वालालम्पुरबाट बेइजिंगका लागि उडेको उक्त विमान बीचमै हराएको थियो।

तर मलेसिया र अष्ट्रेलियाले उक्त विमान भेट्टाउन प्रयास भने जारी राख्ने प्रतिवद्धता जनाएका छन्।