'क्राइमियालाई रुसमा गाभ्ने निर्देशन मेरै हो'

  • 9 मार्च 2015
तस्वीर कपीराइट Reuters
Image caption क्राइमियालाई रुसमा गाभिएको उक्त घटनाको अन्तर्राष्ट्रिय समुदायले कडा आलोचना गरेको थियो।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले क्राइमियालाई रुसमा गाभ्नका लागि आफूले निर्देशन दिएको भनी पहिलो पटक स्वीकार गरेका छन्।

यसअघि मस्कोले क्राइमिया रुसमा गाभिएको घटनामा आफ्नो संलग्नता नरहेको भन्दै त्यसमा स्थानीय मानिसहरुकै सहभागिता रहेको बताउंदै आएको थियो।

राज्य नियन्त्रित टेलिभिजनमा प्रसारण गर्न लागिएको एउटा वृत्तचित्रको ट्रेलरमा रुसी राष्ट्रपति पुटिनले त्यस्तो खुलासा गरेका हुन्।

रुसले यसअघि क्राइमिया गाभिएको घटनामा आफ्नो कुनै पनि किसिमको संलग्नता अस्वीकार गर्दै आएको थियो।

निर्देशन

पुटिनले आफ्ना सुरक्षा प्रमुखहरुलाई, उनकै शब्दमा, क्राइमिया रुसमा फिर्ता ल्याउन कसरी निर्देशन दिएका थिए भन्ने खुलासा उक्त वृत्तचित्रमा छ।

फेब्रुअरीमा पुटिनले त्यस्तो आदेश दिएको केही दिनपछि नै अज्ञात सैनिकहरुले क्राइमियाको संसद कब्जामा लिएका थिए।

साथै उनीहरुका सहयोगीहरु नयां सरकारमा निर्वाचित गरिएका थिए।

क्राइमिया गत मार्च १८ मा औपचारिक रुपमा रुसमा गाभिएको थियो।

प्रदर्शन

चर्चामा रहेको पछिल्लो वृत्तचित्र कहिले प्रदर्शनमा आउंछ भन्ने प्रष्ट पारिएको छैन।

उक्त वृत्तचित्रको ट्रेलरमा फेब्रुअरी २२ र २३ को राती रुसी सुरक्षा निकाय र रक्षा मन्त्रालयका प्रमुखहरुहरुसंगको भेटबारे पुटिनले व्याख्या गर्दै गरेको देखाइएको छ।

त्यसमा उनले युक्रेनका अपदस्थ राष्ट्रपति भिक्टोर यानुकोभिचको ज्यान जोगाउन आफुले निर्देशन दिएको पनि बताएका छन्।

उनलाई कसरी जोगाइएको थियो भन्नेबारे प्रष्ट नपारिए पनि पुटिनले यानुकोभिचलाई डोनेस्कबाट उद्धार गरिएको बताएका छन्।

उक्त वृत्तचित्र राज्य नियन्त्रित टेलिभिजन च्यानलका एकजना पूर्व पत्रकार आन्द्रेइ कोन्द्राशोभले निर्माण गरेका हुन्।