'विमान मर्मतको जिम्मा विदेशी कम्पनीलाई'

  • 11 मार्च 2015
Image caption निगमका दुईवटा ट्विनअटर विमानहरु ग्राउण्डेड भएका छन्

नेपाल वायु सेवा निगमका विमानहरु निरन्तर जसो बिग्रिने समस्याहरु देखापरेपछि यसको नियमित निरीक्षण र मर्मतका लागि विदेशी कम्पनीलाई जिम्मा दिने प्रक्रिया शुरु गरेको अधिकारीहरुले बताएका छन्।

पछिल्लो पटक चीन र फ्रान्सबाट ल्याइएका नयाँ विमानहरु पनि प्राविधिक समस्याका कारण नियमित उडान गर्न नसकेको भन्दै आलोचना भईरहँदा पछिल्लो तयारी अघि बढाइएको हो।

विमानको नियमित जाँच र मर्मतका लागि निगमको इन्जिनियरीङ् विभागले भरपर्दो सेवा दिन नसकेकोले विदेशी कम्पनीलाई निम्त्याउने प्रक्रिया थाल्न लागिएको बताइएको छ।

चीनबाट खरिद गरिएको नयाँ विमान पटक पटक बिग्रिएपछि त्यसको मर्मतका लागी कुटनितिक पहल गर्न सरकारको ढोका ढकढक्याएको निगमले फ्रान्सबाट ल्याइएको नयाँ एयरबस पनि प्राविधिक समस्याले उड्न नसकेपछि मर्मतका लागी विदेशी कम्पनी भित्र्याउने तयारी थालेको हो।

समस्या

हाल निगमसँग भएका साना र ठूला गरी सातवटा विमानमध्ये कतिपयमा बेला-बेला समस्या आउने गरेकोले उडान स्थगित हुदैँ आएको छ।

विमानको नियमित जाँच तथा मर्मत सम्भारको लागि निगमको इन्जिनियरीङ विभाग सक्षम र भरपर्दो नभएकोले विदेशी कम्पनीलाई नियमित जाँच तथा मर्मतको जिम्मा दिने प्रक्रिया थालिएको निगमका प्रवक्ता रामहरि शर्माले बताए।

उनले भने, “नियमित जाँचको लागि विदेशी कम्पनीसँग करार गर्ने विषयमा अब निगम निर्णयमा पुग्छ, निगमको इन्जिनियरीङ सेवासम्बन्धी कमी कमजोरी आएकाले त्यसलाई कार्यान्वयन गर्ने प्रक्रियामा छौं, यसलाई ढिलो गर्नु हितकर हुँदैन, हामी छिट्टै गर्छौं।”

विदेशी कम्पनी भित्र्याउन अन्तराष्ट्रिय स्तरमा बोलपत्र आव्हान गर्ने निगमको तयारी रहेको छ।

उड्डयनसम्बन्धी जानकारहरुका अनुसार विमानको हरेक उडानअघि र अवतरणपछि तथा निश्चित घण्टाको उडानपछि नियमित जाँच गर्नुपर्छ।

निरीक्षण

साथै पाटपुर्जाको मर्मत र निरीक्षण पनि गरिरहनुपर्छ।

उक्त काम विदेशी कम्पनीलाई जिम्मा दिने हो भने निगमको आम्दानीको एक तिहाई रकम विदेशिने उड्डयन विशेषज्ञ कुमार चालिसेले बताए।

उनले भने, “नेपालमा सवै वायुसेवा कम्पनीहरुले मर्मत सम्भार गर्न सक्षम इन्जिनियरहरु राखेकै छन् त, नेपाल वायुसेवा निगममा मात्रै के त्यस्तो अप्ठ्यारो परिरहेको छ जहाँ इन्जिनियरहरुको क्षमतै छैन् भन्छ, यस्तो पनि वायुसेवा हुन्छ? जसले विदेशीसँग करार गरेर मर्मत गर्छु भन्छ उसले कमाएको एक तिहाई त बाहिरै बुझाउँछ।”

हाल निगमका आन्तरिकतर्फ चारवटा र अन्तराष्ट्रियतर्फ तीनवटा गरी सातवटा विमानहरु सञ्चालनमा छन्।

दुई वटा ट्विनअटर विमानहरु भने प्राविधिक समस्याका कारण उड्न नसकेर ग्राउण्डेड भएका छन्।