पाकिस्तानमा मृत्यूदण्ड माथिको निलम्बन खारेज

  • 10 मार्च 2015
तस्वीर कपीराइट AFP
Image caption मानवअधिकारवादी संस्थाहरुले जनाए अनुसार झन्डै ८ हजार मानिसहरुलाई मृत्यूदण्ड सजाय सुनाएर कार्यान्वयन हुन बाकिँ छ।

पाकिस्तानले मृत्युदण्डको सजायं हुने सबै अपराधहरुका दोषीहरुलाई सुनाइएको फैसला कार्यान्वयन माथि लागु स्थगनको व्यवस्थालाई फुकुवा गरेको छ।

गत डिसेम्बर महिनामा पेशावरको एउटा विद्यालयमा एकसय पचास जनाको ज्यान जानेगरी भएको हमलापछि, आतंकवादको अभियोगमा दोषी ठहर भएकाहरुको हकमा मात्र स्थगित मृत्यदण्डको फैसला कार्यान्वयन गरिएको थियो।

अब मृत्युदण्डको सजायं सुनाइएका र पुनरावेदन तथा आममाफीका सबै प्रकृयाहरु पूरा गरी त्यस्ता अपीलहरु खारेज भएका सबै बन्दीहरुको हकमा फैसला कार्यान्वयन पुन: आरम्भ गरिन लागेको सरकारी अधिकारीहरुले बताएका छन्।

सजाय

यसअघि तालेवानले पेशावरको एउटा विद्यालयमा आमहत्या गरेपछि, आतंकवादको अभियोगमा सजायं पाएकाहरुको हकमा मात्र ब्यूंत्याइएको मृत्यदण्ड कार्यान्वयनको निर्णयलाई अब विस्तारगरी मृत्युदण्डको सजायं पाएका अन्य सबै खाले अभियोगका दोषीहरुको हकमा पनि लागु गरिने अधिकारीहरुले बताएका छन्।

आन्तरिक मामिला मन्त्रालयले सबै प्रान्तीय सरकारहरुलाई, अब पुनरावेदनका सबै उपायहरुमा असफल भैसकेका बन्दीहरुलाई फांसी दिने कार्य अघि बढाउन निर्देशन दिएको छ।

मानवअधिकारवादी कार्यकर्ताहरुका अनुसार पाकिस्तानमा मृत्युदण्डको सजायं सुनाइएका झण्डै आठहजार बन्दीहरु छन्।

अन्याय

मृत्यदण्डको सजायं कार्यान्वयनमा लागु सात बर्ष लामो स्थगनको अन्त्य गर्ने पाकिस्तानको कदमलाई देशको एउटा मानवअधिकारवादी वकिलको कार्यालयले उस्कै शब्दमा “गैरजिम्मेवार” कदम भनेको छ।

उक्त वकालत संस्थाका कार्यकारी निर्देशक सेरा बेलाले भनेकी छिन्, "पाकिस्तानको फौजदारी न्याय प्रणालीमा अतिसय मात्रामा अन्यायपूर्ण गतिविधिहरु हुने गर्छन्।"

प्रहरीले यातना दिने परम्परा, अपर्याप्त कानूनी परामर्श र पक्षपातपूर्ण मुद्दाका फैसलाहरु ब्याप्त रहेको बताउंदै उनले, यस्तो अवस्थाका बारेमा जानकार रहंदा रहंदै पनि सरकारले गैरजीम्मेवार ढंगले फेरि मृत्युदण्ड कार्यान्वयन गर्न लागेको भनेकी छिन्।