जबर्जस्ती आरोप स्वीकार्न लगाइयो: डाडायेभ

  • 11 मार्च 2015
तस्वीर कपीराइट Reuters
Image caption नेम्तसोभको दुई साता अघि क्रेमलीन नजिकै गोली हानी हत्या गरिएको थियो

रुसका एकजना विपक्षी नेता बोरिस नेम्तसोभलाई गोली हानी मारेको अभियोगका मुख्य संदीग्धले भनेका छन्, उनलाई जबर्जस्ती उक्त हत्याको सम्बन्धमा साविती बयान दिन लगाइएको थियो।

जाउर डाडायेभलाई गत सप्ताहअन्त्यमा अर्का एकजना व्यक्तिका साथ अभियोग लगाइएको थियो र अहिले उनले आफू निर्दोष भएको दावी गरेका छन्।

आफूलाई जेलमा भेट्न आएका मानिसहरुसंग कुरा गर्दै जाउर डाडाएभले आफूलाई टाउकोमा थैलीले ढाकी दुईदिनसम्म बांधेर राखिएको बताएका थिए।

आफूसंगै पक्राउ परेका साथीलाई मुक्त गराउन मात्र आफूले बोरिस नेम्तसोभलाई मारेको बयान दिएको उनले बताएका छन्।

अनुमान

उनलाई मंगलबार जेलमा भेटेका आन्द्रेई बाबुश्कीनका अनुसार उनको शरीरमा भएका घाउहरु हेर्दा डाडाएभलाई यातना दिइएको अनुमान गर्न सकिन्छ।

रुसको अनुसन्धान कमिटीले भनेको छ, बाबुस्कीन र उनको साथमा रहेका एकजना पत्रकारलाई, जेलमा उक्त हत्याको घटनामा संदीग्ध आरोपीलाई राखिएको अवस्थाको निगरानी गर्नमात्र भ्रमणको ब्यवस्था मिलाइएको हो।

तर तिनीहरुले मुद्दा सम्बन्धी विवरणहरु सार्वजनिक गरेर कानून तोडेको उक्त निकायको भनाई छ।

एउटा बक्तव्य जारी गर्दै अनुसन्धान कमीटिले तिनीहरुको कार्यलाई अनुसन्धानमा हस्तक्षेप गर्न खोजेको रुपमा लिइने बताएको छ।

सोधपुछ

अब बाबुश्कीन र ती पत्रकारलाई अनुसन्धानकर्ताहरुले सोधपुछ गर्ने पनि बताइएको छ।

एकजना भूतपूर्व उपप्रधानमन्त्री तथा पुराना नेता बोरिस नेम्तसोभलाई क्रेमलीन नजीकै आफ्नी प्रेमिकासंग हिंडीरहेको बेला गत फेब्रुअरी २७ तारिखका दिन गोली हानी मारिएको थियो।

उनको हत्या हुनुको सम्भावित कारणबारे रुसी अनुसन्धानकर्ताहरुले अझसम्म पनि केहि खुलाएका छैनन्।