कोषका १४ पदाधिकारी विरुद्ध भ्रष्टाचार मुद्दा

  • 11 मार्च 2015
Image caption अख्तियारले दायर गरेका थुप्रै भ्रष्टाचार मुद्दा विशेष र सर्वोच्च अदालतमा विचाराधीन रहेका छन्

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिबी निवारण कोषको रकम हिनामिना गरेको भन्दै बुधबार कार्यकारी निर्देशकसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

२०६६ देखि २०६८ सालसम्म गरिबी निवारणसम्बन्धी काम विभिन्न जिल्लामा गर्ने भन्दै कोषमा २ करोड ७८ लाख ६१ हजार रुपैँया अनियमितता भएको ठहर अख्तियारको छ।

एक जना कार्यकारी निर्देशक, नौ जना कार्यप्रबन्धक, दुई जना लेखा अधिकृतसहित १४ जना फरार भन्दै अख्तियारले मुद्दा दर्ता गरेको बताइएको छ।

जिल्ला जिल्लामा कार्यक्रम गर्ने नाममा कोषका अधिकारीहरुले हुँदै नभएका सहभागीहरुको नाम उल्लेख गरि कार्यक्रममा लागेको खर्चहरुको झुठो विवरण पेश गरेको भन्दै उजुरी परेपछि अख्तियारले कोषमा भएको भनिएको हिनामिनाको अनुसन्धान थालेको थियो।

अनियमितता

उक्त अनुसन्धानका क्रममा कार्यक्रममा लागेको खर्चहरुको आधार र प्रमाण नदेखिएको र पदाधिकारीहरुले आर्थिक ऐन नियम र मापदण्ड निर्देशिकाको पालनासमेत नगरेको अख्तियारको दाबी छ।

त्यस्तो दाबी सहित अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको अदालतका रजिष्ट्रार नातिबाबु लामिछानेले बताए।

उनले भने, "निर्देशक राजबाबु श्रेष्ठको हकमा २ करोड ७३ लाख ५५ हजार रुपैँया हिनामिना गरेको भनेर सजाँय गरिपाउँ भनेर मुद्दा दर्ता हुन आएको छ। उनीसहित १४ जनाविरुद्ध मुद्दा दर्ता भएको छ।"

कार्यकारी निर्देशक श्रेष्ठबाहेक नौ जना कार्यप्रबन्धक र लेखा अधिकृतहरुलाई पनि रकम हिनामिनाको आरोप छ।

आरोप प्रमाणित भए उनीहरुलाई विगो बराबर जरिवाना र तीन महिनादेखि तीन वर्षसम्म कैदसजाय हुने कानुनी व्यवस्था छ।

फितलो अनुसन्धान

त्यति सजाँयको आरोप लगाइएका १४ जना विरुद्ध बिहीबारबाटै अदालती प्रकृया सुरु गरिने बताइएको छ।

त्यसबारे रजिष्ट्रार लामिछानेले भने, "सबै अभियुक्त फरार भनेर मुद्दा दर्ता भएकोले बिहीबारदेखि हामीहरु म्याद तामेली गर्न थाल्छौं अनि प्रतिवादीहरु अदालतमा उपस्थित हुने क्रम सुरु हुन्छ।"

तर विगतमा यस्ता ठूलो रकम हिनामिनाको अभियोग सहित अख्तियारले दर्ता गराएका अधिकांश मुद्दा अन्तिम सुनुवाइसम्म पुग्दा नगण्य संख्यामा मात्रै अदालतबाट आरोपीहरु दोषी प्रमाणित हुने गरेको पाइएको छ।

विज्ञहरुले अख्तियारको फितलो अनुसन्धानका कारण त्यसो भएको बताउने गरेका छन्।