'इबोलाबाट दश हजारभन्दा बढीको मृत्यु'

  • 13 मार्च 2015
तस्वीर कपीराइट BBC World Service
Image caption राष्ट्रसंघका अनुसार पश्चिम अफ्रिकाले इबोलाका कारण १५ अर्व डलर आम्दानी गुमाउन सक्छ

विश्व स्वास्थ्य संगठनले इबोला प्रकोपले पश्चिम अफ्रिकामा १० हजारभन्दा बढी मानिसले ज्यान गुमाएको जनाएको छ।

पछिल्लो नयाँ तथ्याङ्कबाट अहिले आएर सो कुरा थाहा भएको बताइएको छ।

गीनी, लाइबेरिया र सीयरा लियोनमा २४ हजारवटा इबोला संक्रमित विरामी रहेको उक्त तथ्याङ्कले देखाएको छ।

उस्तै

तथ्याङ्क डरलाग्दो भए पनि संक्रमणको दर घट्दै गएको छ।

जनवरी महिनाको अन्त्यमा विश्व स्वास्थ्य संगठनले जुन महिनायता पहिलो पटक एकसातामा एक सयभन्दा कम नयाँ बिरामी भेटिएको जनाएको थियो।

बीबीसीका सम्बाददाता रिचर्ड ह्यामिल्टन भन्छन्, “महामारी चर्किएको बेलाको अवस्थाभन्दा ठीक विपरीत त्यो क्रम त्यसबेलादेखि सामान्यतया उस्तै नै छ, जबकी महामारीका बेला त आगो जस्तै फैलिएर हरेक साता करिव एक हजार नयाँ विरामी देखा पर्थे।”

अब भने मन्द बनेको संक्रमणको गतिलाई सून्यमा बनाउन गर्नु पर्ने काम दोश्रो चरणमा प्रवेश गरेको छ।

मुक्त

स्वास्थ्य संगठनका अनुसार इबोला विरुद्धको लडाई सहि बाटोमा गइरहेको छ।

तर निकै चर्को देखिएको इबोलाको प्रकोप अन्त्य गर्न थप काम गर्नु पर्ने खाँचो उत्तिकै छ।

इबोला भाइरसले गीनी र सीयरा लियोनका विभिन्न भागलाई नराम्री प्रभावित बनाएको छ।

तर केही दिनदेखि लाइबेरियामा नयाँ विरामी भेटिएका छैनन।

र, केही साताभित्रै उक्त देशलाई इबोला मुक्त घोषणा गरिने आशा गरिएको छ।

राष्ट्रसंघीय विकाश कार्यक्रमले पश्चिम अफ्रिकाले इबोलाका कारण १५ अर्व डलर आम्दानी गुमाउन सक्ने चेतावनी दिएको छ।