प्रदर्शनका कारण कलैयामा जनजीवन प्रभावित

  • 14 मार्च 2015
Image caption अन्तरपार्टी सञ्जालले मृत्युदण्डको माग गर्दै प्रदर्शन गरिरहेको छ

काठमाण्डूस्थित एउटा अस्पतालमा उपचारका क्रममा गत साता मृत्यु भएकी बलात्कृत ६ वर्षिया बालिकाको शव अहिले पनि बारा सदरमुकाम कलैयाको सडकमै छ।

प्रदर्शनका कारण पाँच दिनदेखि त्यहाँको जनजीवन प्रभावित बनेको छ।

दोषीलाई मृत्युदण्ड हुनुपर्ने लगायतका मागहरु पुरा नभएसम्म संघर्ष जारी राख्न दर्शनकारीहरु अडिग छन्।

तर स्थानीय प्रशासननले उक्त माग आफूले पुरा गर्न नसक्ने बताउँदै आएको छ।

रुष्ट

कतिपय स्थानीयबासीहरु लाशको राजनीति भन्दै प्रदर्शनप्रति रुष्ट देखिन्छन्।

बलात्कारपछि मृत्यु भएकी कलैया-६ का नारायणप्रसाद साहकी ६ वर्षिया छोरी पूजा साहको शव पाँच दिनदेखि भरतचोकमा राखेर ‘बेटी बचाउ संघर्ष समिति’ले विरोध गरिरहेको छ।

समितिका संयोजक प्रमोद गुप्ता माग संबोधन गर्न सरकारले चासो नलिएको आरोप लगाउँछन्।

कलैयामा पटक-पटक बालिका बलात्कृत र हत्याको घटनाले अन्तर पार्टी सञ्जाल बारा जिल्ला सचिव शिला साह पनि आक्रोशित छन्।

उनी भन्छिन्, “कलैयामा यस्ता अपराधहरु हुने क्रम बढ्दो छ, फाँसीको सजाय हुनैपर्छ, नभए बलात्कारका घटनामा कमी आउने छैन्।”

Image caption कारवाहीको माग गर्दै हस्ताक्षर संकलन अभियान पनि शुरु गरिएको छ

संघर्षमा समर्थन जनाउँदै आएका दलित जनाजाति पार्टीका सभासद विश्वेन्द्र पाशवान सरकारले चाहे माग पुरा हुन सक्ने दाबी गर्छन्।

नेतृत्वविहीन

बारा जिल्लाका प्रहरी प्रमुख लोकेन्द्रबहादुर मल्लले स्थानीयस्तरबाट पुरा नहुने मागहरु राखी गरिएको संघर्ष नेतृत्वविहीन रहेको आरोप लगाए।

उनले भने, “यहाँ आन्दोलनको नेतृत्व गर्ने को छ? फाँसीको सजायसम्बन्धी माग स्थानीयस्तरबाट कसरी पुरा गर्न सकिन्छ?”

जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालयभन्दा करिब २ सय मिटर पूर्वको चोकमा शव राखी बजार, शिक्षण संस्थाहरु पूर्ण रुपमा बन्द गराइएका छन्।

तर शव राखेर भईरहेको विरोधलाइ कतिपय स्थानीय बासिन्दाहरुले राम्रो मानेका छैनन्।

राजनीतिक दलहरुले पनि खुलेर विरोधप्रति समर्थन जनाएको देखिदैन।