'आन्दोलन गरे पनि संविधान निर्माण नरोकिने'

  • 16 मार्च 2015
तस्वीर कपीराइट Reuters
Image caption विपक्षी सभासद्हरुले गरेको तोडफोडपछि संविधानसभाको गतिविधि अगाडि बढ्न सकेको छैन्

एकीकृत माओवादी नेतृत्वको विपक्षी मोर्चाले दोस्रो चरणको आन्दोलन घोषणा गरेपछि रुष्ट देखिएका सत्तारुढ घटकहरुले संविधानसभामा स्थगित प्रक्रिया अघि बढाउन पहल थाल्ने बताएका छन्।

सहमतिका लागि वातावरण बनाउन भन्दै संविधानसभा स्थगित गरिएको एक महिनाभन्दा बढी भइसक्दा पनि प्रमुख दलहरु गतिरोध अन्त्य गर्न विफल भएका छन्।

विपक्षी मोर्चा फेरि आन्दोलनमा होमिएपछि अब आफूहरु संविधानसभामा स्थगित प्रक्रिया अझै रोकेर राख्ने मनस्थितिमा नरहेको सत्तापक्षीय दलका नेताहरुले बताएका छन्।

सत्तारुढ दलहरु वार्ताको लागि गम्भीर नभएको भन्दै एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चाले चैत पहिलो साताबाट शुरु हुने गरी देशव्यापी बन्दसहितका विरोध कार्यक्रम आईतबार घोषणा गरेको थियो।

रुष्ट

उक्त घोषणाबाट रुष्ट जस्तो देखिएका सत्तारुढ घटक कांग्रेस र एमालेले संविधानसभाको बैठक छिट्टै डाक्नेबारे आपसी छलफल थाल्ने बताएका छन्।

कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने, “उहाँहरु सधैं आन्दोलन गरिरहनुहुन्छ, संविधानसभा सधैं बन्धक बस्छ? अब यस विषयमा कांग्रेस-एमाले गम्भीर छलफलमा बस्छौं, आन्दोलनको घोषणा गर्नु भूल हो, लोकतन्त्रको बाटोलाई बिथोल्ने प्रयासलाई हामी सफल हुन दिदैनौं।”

सहमतिका लागि वातावरण बनाउन भन्दै संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले दलहरुको आग्रहमा गत माघ २९ गतेयता संविधानसभाको बैठक अनिश्तिकालका लागि स्थगित गरेका थिए।

तर सत्तापक्षीय र विपक्षी दलहरुले अझै कुनैं निकास दिन नसकेपछि अब धेरै समय नकुर्ने चेतावनी पनि उनले दिएका छन्।

विवादित

त्यस्तै मनस्थितिमा देखिएका सत्तारुढ घटक एमालेका नेताहरुले संविधानका विवादित विषयहरुबारे तयार प्रश्नमाथि छलफल अघि बढाउनुपर्ने माग गरेका छन्।

एमालेका प्रमुख सचेतक अग्नि खरेलले भने, “हामी प्रक्रियाबाट अघि बढ्छौं, संविधानसभाले विवादका विषयमा प्रश्न बनाएको छ, संविधानसभाको त्यो प्रक्रियाबाट संविधान निर्माण अघि बढ्छ।”

यद्यपि सत्तारुढ घटकहरुले संविधानसभाको प्रक्रिया शुरु गरिएपनि विपक्षी मोर्चासँगको संवादका लागि ढोका भने खुलै राखिने जनाएका छन्।