‘द्रुतमार्ग निर्माणको बाटो खुल्यो’

  • 17 मार्च 2015
तस्वीर कपीराइट Jitendra Raut
Image caption द्रुतमार्ग भएर तराईबाट काठमाण्डू पुग्न करिब सवा एकघण्टा लाग्ने बताइन्छ

राजधानीलाई तराईसँग जोड्ने काठमाण्डू-निजगढ द्रुतमार्गको विस्तृत परियोजना अध्ययन प्रतिवेदन (डीपीआर) तयार पार्ने सम्झौतामा हस्ताक्षार भएपछि निर्माणको बाटो खुलेको अधिकारीहरुले बताएका छन्।

लामो समयदेखि चर्चामा रहेको द्रुतमार्गमा पर्ने अधिकांश ठाँउमा जग्गा अधिग्रहण गरी सकिएकाले निर्माणमा समस्या नरहेको सरकारको भनाई छ।

तर कतिपयले उक्त द्रुतमार्ग कसले बनाउने भन्ने टुंगो नगरी डीपीआर गरिनु गलत भएको बताएका छन्।

निजगढमा निर्माण गर्ने भनिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थललाई राजधानीसँग जोडने गरी निर्माण गर्ने लक्ष्य लिएको उक्त द्रुतमार्गको डीपीआर सम्झौताले रेखाङ्कन र लगानीको यकिन गर्ने बताइएको छ।

सम्झौता

भारतीय कम्पनी इन्फ्राष्टक्चर लिजीङ एण्ड फाइनान्स सर्भिसेजले परियोजना अध्ययन प्रतिवेदन ४ महिनामा तयार गरेर मन्त्रालयलाई बुझाइपछि निर्माणको जिम्मा कसलाई दिने भन्ने निर्णय गरिने बताइएको छ।

भौतिक योजना तथा निर्माण मन्त्री विमलेन्द्र निधिले भने, “त्यसको अध्यन गरेर त्यो स्वीकृत गर्यो भने उसैसँग पनि निर्माणको सम्झौता हुन सक्छ तर डीपीआरको प्रतिवेदन पछिमात्र थाहा हुन्छ।”

एसियाली मापदण्डको ४ स्तरमध्ये यो मार्ग सबैभन्दा उच्च मापदण्डको बनाउने भएकाले १ वर्ष पहिले नेपाली सेनाले खोलेको ट्रयाक अबको निर्माणका लागि सहायकमात्र हुने भौतिक योजना तथा निर्माण मन्त्रालयले बताएको छ।

द्रुतमार्गले ओगटने अधिकांश भूभागको जग्गा अधिग्रहणको काम भईसकेकाले निर्माणमा समस्या नरहेको भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव तुलसी सिटौलाको भनाई छ।

उनले भने, “हामीले जग्गा प्राप्त गरी सक्यौँ, त्यसले गर्दा हाम्रा चुनौतीहरु कम भएका छन्, निर्माण सामाग्री र बन्द हडताल नभए चार वर्षमा निर्माण हुन्छ।”

लगानीकर्ता

यसअघि लगानी बोर्डले लगानीकर्ताबारे टुंगो लगाएर उक्त आयोजना र निजगढमा बनाइने भनिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल संयुक्त रुपमा निर्माण गर्न सरकारलाई सुझाव दिएको थियो।

विज्ञहरुले राष्ट्रिय गौरवका ती दुवै ठूला परियोजना सरकार आफैले बनाउनुपर्ने बताउँदै आएका छन्।

काठमाडौं निजगढ द्रुतमार्ग निर्माण नभए निजगढमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगविहीन हुने भएकाले सरकारमाथि निर्माणको दबाब पर्दै आएको छ।

उक्त मार्ग तयार भएमा निजगढको अन्तर्राष्ट्रिय विमानस्थलबाट राजधानी काठमाण्डू आउन बढीमा एक घण्टा १५ मिनेट लाग्ने भएकाले कतिपय अन्तर्राष्ट्रिय उडानहरु त्यही अवतरण गराउने सरकारी लक्ष्य रहेको छ।