भानुआटुमा नुनिलो पानी पिउन मानिसहरु बाध्य

  • 17 मार्च 2015
तस्वीर कपीराइट AP
Image caption सहायता संस्थाहरुका अनुसार भानुआटुमा पुननिर्माण कार्य निकै विशाल हुनेछ

समुद्री आंधी प्यामबाट तहसनहस भएको भानुआटुका विभिन्न क्षेत्रमा सहायता एजेन्सीहरुले पुग्ने प्रयास गरिरहेका छन्।

तर कतिपय स्थानमा जमिन डुबानमा परेका कारण राहत सामग्री बोकेका विमानहरु अवतरण गर्न सकिरहेका छैनन्।

एकजना विमान चालकले त्यहांको हरियालीले भरिपूर्ण क्षेत्र कुनै डढेलोले सखाप पारेको जस्तो देखिएको बताएका छन्।

अधिकारीहरुले भनेका छन् - भानुआटुका साना बाहिरी टापुहरुमा पिउने पानीको अभावका साथसाथै खानेकुरा र आश्रयस्थलको ठूलो अभाव छ किनभने हजारौं मानिसहरु घरबारविहीन हुन पुगेका छन्।

नुनिलो पानी पिउनु स्वास्थ्यका लागि हानीकारक हुन्छ, किनकी जति जति त्यस्तो नुनिलो पानी पियो, शरिरमा पहिले नै रहेको पानीको प्रयोग त्यो नुनीलोपनालाई कम गर्नमा प्रयोग हुन जान्छ।

सहायता

डुंगा चढेर मोस्सो टापु पुगेका बीबीसीका संवाददाता जोन डोनीसन भन्छन्, त्यहां धेरैजसो घरहरु धरासायी छन्।

तासेरिकी गाउंका बासिन्दाहरुले आंधी पछि आफूहरुले कुनै पनि बाहिरी सहायता पाउन नसकेको बताएका छन्।

संयुक्त राष्ट्र संघले भानुआटुमा समुद्री आंधीका कारण ज्यान गुमाएकाहरुको संख्यालाई संशोधन गर्दै, यसअघिको २४ बाट घटाएर ११ पुर्याएको छ।

आंधी आउनु अगाडि नै जारी गरिएको सावधानीका सन्देशहरुका कारण, त्यसरी मारिनेहरुको संख्या सापेक्षित रुपमा कम हुन पुगेको बताइएको छ।

भानुआटुका प्रधानमन्त्री जो नाटुमनले बीबीसीसंग कुरा गर्दै, देशका सबै टापुहरुमा आँधीका कारण पुगेको क्षतिको पूर्ण विवरण चार दिनपछि पनि स्पष्ट हुन नसकेको बताएका छन्।