ब्रेल लिपीबाट परिक्षा दिन पाउुनुपर्ने माग

  • 19 मार्च 2015
Image caption एसएलसी दिँदा दृष्टिविहीनको यो समस्या वर्षेनी चर्चामा आउने गरे पनि समाधान भने हुनसकेको छैन।

बिहीबारबाट सुरु एसएलसी दिइरहेका दृष्टिविहीन परीक्षार्थीले आफूहरुले ब्रेल लिपीमा परीक्षा दिन पाउनुपर्ने माग गरेका छन्।

कक्षा ९ का सहयोगी राखेर परीक्षा दिइरहेका उनीहरुलाइ ब्रेल लिपीमा प्रश्नपत्र उपलब्ध नगराइदा परिक्षामा लेख्न कठिनाई भैरहेको गुनासो गरेका छन्।

अहिलेको प्रश्नपत्रका आधारमा गणित, विज्ञानलगायतका विषयमा आउने चित्र तथा रेखा बनाउने प्रश्नहरुको जवाफ लेख्न आफूहरुले नसक्ने उनीहरुको भनाई छ।

उनीहरुकै ब्रेल लिपीमा परीक्षा दिन पाए आफूले सोचेजस्तो लेख्न सकिने बताएका छन्।

समस्या

झापाको महेन्द्र रत्न उच्च माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रमा ५ जना दृष्टिविहीन विद्यार्थी एसएलसीको परीक्षा दिइरहेका छन्।

दुर्गा उच्च मावि गरामनीका उनीहरुले कक्षा ९ विद्यार्थीलाई सहयोगी राखेर परीक्षा दिइरहेका छन्।

एसएलसी परीक्षा दिइरहेका आशिष खतिवडाले गणित, सामाजिक तथा विज्ञान विषयमा आफूहरुलाई परीक्षा दिन अत्यन्तै गाह्रो हुने बताए ।

अर्की परीक्षार्थी मेनुका पौडेलले भनिन्, 'रेखा तथा चित्र बनाउने कुरामा हामीलाई समस्या छ, त्यहीँ माथि हामी भन्दा तल्लो कक्षाका विद्यार्थीलाई राखेर परीक्षा दिँदा कतिपय उसले बुझिदिँदैन ।'

दृष्टिविहीन परीक्षार्थीको कठिनाईबारे आफू जानकार रहेको महेन्द्र रत्न उच्च मावि विर्ताबजार परीक्षा केन्द्रका केन्द्राध्यक्ष मोहन ओलीले बताए।

उनले भने, “जब विज्ञान तथा गणितका परीक्षा आउछन् त्यतिबेला यिनीहरुको बेहाल हुन्छ।”

सोच

दृष्टिविहीन विद्यार्थीलाई पढाउनका लागि जिल्लाहरुमा आवासको सुविधा सहित सहज पठनपाठनको व्यवस्था मिलाइए पनि परीक्षामा भने अन्य परीक्षार्थी सरह व्यवहार गरिएको पाइन्छ ।

देशभरबाट कति दृष्टिविहीन विद्यार्थीले एसएलसी परीक्षा दिइरहेका छन् भन्ने तथ्यांक समेत परीक्षा नियन्त्रण कार्यालयमा छैन।

परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारे दृष्टिविहीन परीक्षार्थीका ब्रेल लिपीमा प्रश्न पत्र तयार गर्ने सोचाइ भए पनि नभ्याइएको बताए।

उनले भने, 'हामीले परीक्षा समितिमा पनि कुरा गर्यौं, तर संभव भएन सबैतिर सोच्न गाह्रो हुँदोरहेछ ।'

दृष्टिविहीन परीक्षार्थीले सरकारले सहजपूर्वक परीक्षा दिन पाउने आफ्नो अधिकार खोसिदिएकोमा दुख व्यक्त गरेका छन्।