'आतंकवादविरुद्ध निर्दयी भएर लड्छौँ'

  • 19 मार्च 2015
तस्वीर कपीराइट AP
Image caption आक्रमण गरिएको संग्रहालय बाहिर मानिसहरुले मैनबत्ती लिएर प्रदर्शन गरिरहेका छन्

ट्युनिसियाका राष्ट्रपति बेजी काइद एसेब्सीले कुनै दया माया बिना आतंकवादविरुद्ध लड्ने वाचा गरेका छन्।

राजधानी ट्युनिसस्थित बार्दो संग्रहालयमा गरिएको एउटा बन्दुक आक्रमणमा १९ जना मारिएपछि राष्ट्रपतिको पछिल्लो भनाई सार्वजनिक भएको हो।

बार्दो संग्रहालयमा बन्दुकधारीहरुले गरेको आक्रमणमा मारिनेमध्ये १७ जना पर्यटक थिए।

उनीहरु जापान, कोलम्बिया, अष्ट्रेलिया, फ्रान्स, पोल्याण्ड र स्पेनका नागरिक भएको अधिकारीहरुले बताएका छन्।

आतंकवाद

बुधबारको आक्रमणमा मारिने दुई जना ट्युनिसियाली नागरिहरुमध्ये एकजना प्रहरी अधिकारी पनि छन्।

सुरक्षा फौजले दुई जना बन्दुधकारीहरुलाई मारिदिएको र उनीहरुका सहयोगीको खोजी भईरहेको जनाएको छ।

अधिकारीहरुका अनुसार, आक्रमणमा पर्यटक र ट्युनिसयाली नागरिकसहित ४० जनाभन्दा बढी घाईते भएका छन्।

राष्ट्रपति एसेब्सीले उनकै शब्दमा मुलुक आतंकवादविरुद्धको लडाइमा रहेको बताए।

सरकारी टेलिभिजनमा बोल्दै उनले भने, “अल्पसंख्यामा रहेका यी पिशाचहरुले हामीलाई तर्साउन सक्दैनन्, हामी कुनै दया माया बिना अन्तिम समयसम्म उनीहरुलाई रोक्नेछौँ।”

लोकतन्त्र जित्ने र बाँचिरहने उनको भनाई थियो।

प्रदर्शन

तस्वीर कपीराइट epa
Image caption आक्रमणपछि सु्रक्षा व्यवस्था कडा पारिएको अधिकारीहरुले बताएका छन्

प्रधानमन्त्री हबिब अस्सिदले इतिहासमै गम्भीर र भविष्य निर्धारण गर्ने घडीमा रहेको बताए।

आक्रमणका बेला संग्रहालय नजिकै रहेको संसद भवनमा प्रतिआतंकवादसम्बन्धी विधेयकमाथि छलफल भईरहेको थियो।

आक्रमण शुरु भएपछि संसद भवन खाली गरिएको थियो।

तर साँझपख विशेष सत्र डाकिएको थियो।

आक्रमणको विरोधमा संग्रहालय बाहिर मैनबत्ती लिएर झण्डा फहराउँदै मध्य ट्युनिसमा धेरै मानिसहरु सडकमा उत्रिएका थिए।

आक्रमणको निन्दा गर्दै विश्व नेताहरुले प्रतिआतंकवादसम्बन्धी ट्युनियाली कदमप्रति समर्थन जनाएका छन्।