‘एसिड हान्नेलाई ज्यान मार्ने उद्योग’

  • 20 मार्च 2015
तस्वीर कपीराइट bbc
Image caption महानगरीय प्रहरीले एसिड आक्रमणकारीलाई शुक्रबार सार्वजनिक गरेको हो

एक महिना अघि राजधानीमा दुई जना स्कुले छात्रामाथि एसिड प्रहार गर्ने अभियुक्तलाई ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाउने प्रहरीले जनाएको छ।

घाइते मध्येकी एक छात्रासँग विगतमा नजिकको सम्बन्ध भएपनि पछि उत्पन्न व्यक्तिगत र पारिवारिक रिसइवीका कारण उक्त आक्रमण गरिएको प्रहरीले बताएको छ।

आरोपित जीवन बिकले निरन्तर पिछा गरेर दोस्रो पटकको प्रयासमा एसिड प्रहार गरेको प्रहरीको भनाइ छ।

ठूलो परिमाणमा एसिड प्रयोग गरी आक्रमण गरिएकाले उक्त घटनामा ज्यान मार्ने उद्योगमा मुद्दा चलाउनु जायज भएको एक पूर्व महान्यायाधिवक्ताले बताए।

रिसइवी

राजधानीको बसन्तपुर स्थित ए प्लस ट्युसन सेन्टरमा गएको फागुन १० गते एकाबिहानै गरिएको एसिड आक्रमणका पीडित दुई छात्राहरुले अस्पतालबाटै एसएलसी परीक्षा दिइरहँदा शुक्रबार प्रहरीले आरोपित पिडकलाई सार्वजनिक गरेको हो।

कुनै चलचित्रको कथा जस्तै सुनिने घटना विवरणबारे बताउँदै प्रहरीले आक्रमणका कारण गम्भीर घाइते छात्रा सङ्गीता मगरको परिवार बसेकै घरमा विगतमा डेरामा बस्ने २० बर्षीय जीवन बिकले एसिड प्रहार गरेको जनाएको छ।

उनले सङ्गीतालाई ट्युसन पढाइदिने गरेको र त्यस क्रममा दुवै नजिकिएको भएपनि पछि दुवै जनाबीच बारम्बार खटपट भई पारिवारिक रिसइवी भएको प्रहरीको भनाइ छ।

राजधानीको न्यूरोडमा चिया पसल गर्ने आफ्ना परिवारलाई भारतीय सेनामा जागिर खान सिक्किम गएको भन्दै ढाँटेर बिक पछिल्लो समयमा टोखामा भाडामा बस्दै आएको बताइएको छ।

उनले सङ्गीता र उनका भाइलाई आक्रमण गर्ने उद्देश्यले निरन्तर पिछा गरेको र सुरुमा फलामे रडले आक्रमण गर्ने मनसाय लिएको भए पनि हिन्दी सिरियलबाट प्रभावित बनेर एसिड छ्याप्ने निर्णय गरेको बयान आफूलाई दिएको प्रहरीले बताएको छ।

आक्रमण गर्ने उद्देश्यले पहिलो पटक खरीद गरिएको एसिड प्लास्टिकको बोत्तलमा सार्ने क्रममा गएको असोजमा पग्लिएर नष्ट भएपछि उनले दोस्रो पटक खरीद गरेका थिए।

कार्वाही

फाल्गुन १० गते सङ्गीता अध्ययनरत ट्युसन सेन्टर एकाबिहानै फेला पारेपछि उनले त्यहाँ रहेका छात्रामाथि एसिड छ्यापेको प्रहरीको भनाइ छ।

त्यस क्रममा सङ्गीता र अर्की विद्यार्थी सीमा बस्नेत घाइते भएका थिए।

महानगरीय प्रहरी आयुक्त विज्ञानराज शर्माले आक्रमणकारीलाई ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाइने बताए।

“सरकारी वकिलसँग हामीले सल्लाह गरिरहेका छौँ, ज्यान मार्ने उद्योगमा कार्वाही सुरु हुन्छ, हदैसम्मको कडा कार्वाही हुन्छ।”

ज्यान मार्ने उद्योग अन्तर्गत बढीमा पन्ध्र वर्ष सजाय हुने कानुनी व्यवस्था रहे पनि ज्यान मर्न नपाएको अवस्थामा ४ देखि १२ बर्षसम्म जेल सजाय हुनसक्ने व्यवस्था छ।

विगतका कतिपय एसिड आक्रमण सम्बन्धी मुद्दामा मुलुकी ऐन अन्तर्गतको कुटपिट र अंगभंग सम्बन्धी महलमा टेकेर मुद्दा हाल्दा कम सजाय हुने गरेको केही कानुनविदहरु बताउँछन्।

समर्थन

फौज्दारी कानुनका विज्ञ समेत रहेका पूर्व महान्यायधिवक्ता युवराज संङ्ग्रौलाले आक्रमणकारीको नियत हेरेर एसिड प्रहारका घटनामा ज्यान मार्ने उद्योग, यौन हिंसा र सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाउन मिल्ने बताउँछन्।

तर पछिल्लो आक्रमणमा भएको क्षतिका अधारमा आक्रमणकारीमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलाउन सकिने उनले बताए।

उनले भने, “उसको नियत के थियो, अहिले भन्न सकिदैँन तर जुन मात्रामा उसले गरेको कार्वाहीबाट क्षति भएको छ त्यसबाट ज्यान पनि जान सक्थ्यो। त्यही भएर प्रहरीले प्रमाणहरु फेला पारेरै ज्यान मार्ने उद्योगमा मुद्दा लगाउन खोजेको जस्तो देखिन्छ।”

संसदमा ४ बर्ष देखि विचाराधीन अपराध संहिता सम्बन्धी विधेयकले रासायनिक वा विषालु पदार्थ प्रयोग गरी कुरुप बनाउने अपराधमा पीडकलाई १० बर्षसम्म जेल सजाय हुने प्रस्ताव गरेको छ।

प्रहरीका अनुसार नेपालमा एसिड प्रहारका घटना तुलनात्मकरुपमा कम हुने गरेको र अधिकांश प्रेम सम्बन्ध अस्वीकृत भएपछि हुने गरेको पाइन्छ।