सहमतिको म्याद त्यसै गुज्रिने संभावना

  • 22 मार्च 2015
तस्वीर कपीराइट bbc
Image caption सभाध्यक्षले अनन्त कालसम्म संविधानसभाले दलहरुलाई कुर्न नसक्ने बताउदै आएका छन्

प्रमुख दलहरुबीच संवादहीनताको अवस्था कायम रहेकाले चैत ११ सम्ममा सहमति कायम गर्न संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले दिएको पछिल्लो समयसीमा पनि त्यसै गुज्रिने आशंकाहरु बढेका छन्।

आन्दोलनरत ३० दलीय मोर्चाको नेतृत्व गरेका मुख्य विपक्षी एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड सोमबारबाट पाँच दिने चीन भ्रमणमा जाने भएकाले तत्कालै सहमतिको संभावना नरहेको बताइन्छ।

संविधानसभा अध्यक्ष नेम्वाङले शुक्रबार प्रधानमन्त्री सुशील कोइराला र शनिबार प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादीका अध्यक्ष प्रचण्डलाई भेटेर चैत ११ गतेभित्रै सहमतिको बाटो खोल्न आग्रह गरेको बताएका थिए।

तर यसबीचमा दलहरुबीच दुईवटा असफल औपचारिक वार्ताबाहेक संवाद हुन सकेको छैन्।

समयसीमा

त्यसमाथि चैत १३ गते फर्कने गरी प्रचण्ड सोमबार चीन भ्रमणमा जाने भएपछि नयाँ समयसीमाभित्र सहमति जुट्नेमा आशंकाहरु व्यक्त भएका छन्।

त्यसबारे सोध्दा नेम्वाङले भने, “केही न केही हुन सक्छ, प्रधानमन्त्री र पुष्पकमल दाहालजीले वचन दिनुभएको छ, हेरौं र पर्खौं, ११ गतेभन्दा अघिको समय उहाँहरुलाई प्राप्त छ, त्यसपछि तपाई हामी सबैको समय शुरु हुन्छ, संविधान, नियम र अभ्यास बमोजिम म अगाडि बढ्छु।”

बिहीबार चीन जान लागेका राष्ट्रपति रामवरण यादवले पनि गतिरोध अन्त्यको प्रयासमा आईतबार प्रमुख दलका शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएको बताइएको छ।

गतिरोध कायमै रहेका बेला सत्तापक्षीय र विपक्षी दलहरुले नयाँ समयसीमामा पनि निकास निस्किनेमा आशंका व्यक्त गर्दै त्यसका लागि एकअर्कामाथि आरोपप्रत्यारोप गरेका छन्।

प्रयास

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले भने, “खोई उहाँहरुले अहिलेसम्म वार्ता गर्ने प्रयास नै गर्नुभएको छैन्, वार्ता छोडेर हिँड्ने, चीन जाने अनि सहमतिको कुरा गर्ने, यसो गर्दा कसरी हुन्छ ?”

कांग्रेससहित अर्को सत्तारुढ घटक एमालेले संयुक्त रुपमा संविधानसभा अध्यक्षलाई यसअघि स्थगित बहुमतीय प्रक्रियालाई अघि बढाउन आग्रह गरिसकेका छन्।

विपक्षी मोर्चाले भने त्यसरी अगाडि बढे संविधानसभाबाट बाहिरिन सक्ने चेतावनी समेत दिएको छ।