खराब सम्झौता नगर्ने: शक्ति राष्ट्रहरु

  • 22 मार्च 2015
तस्वीर कपीराइट
Image caption इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण रहेको बताउँछ

इरानसँग उसको आणविक गतिविधिबारे सम्झौता गर्न खोजिरहेका पश्चिमा शक्तिहरुले 'खराब संझौता' स्वीकार गर्न नसक्ने ब्रीटीस विदेशमन्त्री फिलिप ह्यामोन्डले बताएका छन्।

मार्च अन्त्य सम्ममा सहमति गरिसक्नुपर्ने बाध्यतामाझ फ्रान्स, जर्मनी, ब्रीटेन र अमेरिकाका विदेशमन्त्रीहरुले लण्डनमा भेटवार्ता गरेका छन्।

६ वटा विश्व शक्तिहरु इरानले आणविक हतियार नबनाओस् भन्ने निश्चित गर्न चाहन्छन्, इरानले त्यसो नगरिरहेको बताउँछ।

यसअघि इरानी राष्ट्रपतिले सम्झौता हुनेबारे सकारात्मक बोलेका थिए।

मतभेद

इरानी राज्य नियन्त्रित सन्चारमाध्यमले राष्ट्रपति हसन रुहानीलाई उदृत गर्दै भनेको थियो 'समाधान खोज्न नसकिने कुनै विषय छैन् तर केही मतभेद बाँकी रहने छन्।'

शनिवारको वार्तापछि ब्रीटीश विदेशमन्त्री ह्यामोण्डले भने, 'हामी हाम्रो खतराको चिन्हसम्म पुग्ने गरी कुनै खराब सहमति गर्ने छैनौं।'

बैठकको औपचारिक विज्ञप्तिमा भनिएको छ: हामी इरानसँगको वार्तामा ठोस प्रगति भएकोमा सहमत छौं तर अहिले पनि केही विषय छन् जसमा कुनै सहमति अहिलेसम्म हुन सकेको छैन्।

कठीन निर्णय

अब इरानले कठीन निर्णय गर्नुपर्ने बेला आएको विज्ञप्तिमा उल्लेख छ।

चीन र रुस एवं यी चार शक्ति राष्ट्रले इरानको संवेदनशील आणविक गतिविधिबारे सम्झौता गर्न खोजिरहेका छन् ।

इरान र पश्चिमा मुलुकले ३१ मार्चसम्ममा सम्झौता गर्ने र ३० जुनमा अन्तिम सहमति गर्ने स्वघोषित समयमसीमा बनाएका छन्।

अमेरिकी विदेशमन्त्री जोन केरीले 'महत्वपूर्ण प्रगति भएको तर अझ पनि महत्वपूर्ण खाडल बाँकी रहेको' बताएका छन्।

तर इरानमा कट्टरपन्थी धारको नेतृत्व गर्ने सर्वोच्च नेता अयातोल्लाह खामेनीले शनिबार आर्थिक वृद्धि हासिल गर्न विदेशीको शरण पर्न नहुने चेतावनी दिएका छन्।

सहमतिमा नमिलेका बुँदामा कुन गतिमा नाकाबन्दी हटाइन्छ र कहिलेसम्मका लागि समयसीमा हो र इरानको आणविक सामर्थ्यको कति भाग अनुगमनका लागि राख्ने भन्नेमा विवाद नमिलेको बताइन्छ।