प्रचण्ड पाँच दिने चीन भ्रमणमा

  • 23 मार्च 2015
Image caption यसअघि नेकपा माओवादीकै कतिपय नेता तथा सत्तापक्षका नेताहरुले पनि चीनको भ्रमण गरेका थिए।

लामो समयदेखि संविधान लेखनको विषय छायाँमा परिरहेको बेला त्यसको कुनै समाधान ननिस्कँदै एकीकृत माओवादी अध्यक्ष प्रचण्ड सोमबार चीनको पाँच दिने भ्रमणमा गएका छन्।

संविधानसभाका अध्यक्षले आउँदो ११ गतेसम्मको समयसीमा दिँदै दलहरुलाई त्यसपछि संविधानसभा एउटा प्रकृयामा जाने चेतावनी दिइरहँदा विपक्षी मोर्चाका संयोजकसमेत रहेका प्रचण्ड चीन गएका हुन्।

प्रचण्ड मात्रै होइन, पछिल्लो समय राजनीतिक दलका नेताहरु, उच्च ओहोदाका कर्मचारीलगायत कानुनव्यवसायी, पत्रकारको लगातारको चीन भ्रमणलाई चीनको नेपालप्रतिको स्वार्थसँग जोडेर हेर्नुपर्ने विश्लेषकहरु बताउँछन्।

खासगरी सत्तापक्ष र विपक्षी दलहरुबीचको तिक्तताका कारण संविधान लेखनको विषय झन्डै दुई महिनादेखि ओझेलमा परिरहेको बेला प्रचण्ड चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा चीनको कुन्मिङ गएका हुन्।

अपेक्षा

उनले आफू जानुको कारणबारे विमानस्थलमा सञ्चारकर्मीसँग भने, "अहिले नेपालको संक्रमणकालको बारेमा एकअर्काको धारणा बुझ्ने र यसलाई सफल पार्ने वातावरण बनाउन पनि सहयोग पुग्छ भन्ने अपेक्षा छ।"

पछिल्लो समय चीनले प्रचण्डसँग मात्रै नभइ अन्य पार्टीका नेता तथा विभिन्न पेशाकर्मीलाई समेत पटकपटक भ्रमणमा निम्त्याउने गरेको छ।

यसले पछिल्लो समय नेपालमा भारतको मात्रै नभइ आफ्नो पनि उत्तिकै चासो छ भन्ने चीनले देखाउन खोजेको विश्लेषण अन्नपूर्ण पोष्ट दैनिकका सम्पादक पत्रकार युवराज घिमिरेले गरे।

उनले भने,"नेपालको अशान्ति र अस्थिरताले हामीलाई पनि त्यतिकै प्रभावित गर्छ किनभने नेपालमा हाम्रो भूमिका भारतको भन्दा बढी नभए पनि कम छैन भन्ने स्पष्ट चीनको नेपालसम्बन्धी नीतिको अवधारणामा त्यो देखिन्छ।"

स्वार्थ

त्यसबाहेक नेपालमा लगानीको सुनिश्चितताका लागि चीनले राजनीतिक स्थायित्व चाहेको साउथ एशियन स्टडिजका निर्देशक निश्चलनाथ पाण्डेले बताए।

उनले भने, "हाम्रो पर्यटन, विकासका पूर्वाधारमा चीनको अहिले लगानी जसरी बढीरहेको छ, त्यसमा पनि चीनले आफ्नो लगानीको सुरक्षा र भविष्यमा हुनसक्ने जोखिमबारे अध्ययन विश्लेषण गर्नु त स्वाभाविक नै हो।"

खासगरी नेताहरु र कर्मचारीलगायत विभिन्न पेशाका व्यक्तिलाई फरक फरक सिलसिलामा चीन लगिए पनि त्यसमा चीनको भित्री स्वार्थ भने कूटनीतिक रुपमा आफ्नो सम्बन्ध विस्तार र निकटता नै रहेको बताइन्छ।

प्रचण्ड नफर्कँदै आउँदो १२ गते बोहावो सहरमा हुने एशिया फोरमको वार्षिक सम्मेलनमा सहभागी हुन राष्ट्रपति रामवरण यादव एक साताका लागि चीन जाँदै छन्।