आर्थिक वृद्धिदर अझै घट्ने एडिबीको अनुमान

  • 24 मार्च 2015
Image caption एडिबीले मंगलबार एशियाली मुलुकहरुको आर्थिक अवस्था एकैसाथ प्रक्षेपण गरेको हो

एशियाली विकास ब्यांकले नेपालमा अघिल्लो वर्षको तुलनामा चालू आर्थिक वर्षको आर्थिक वृद्धिदरमा कमी आउने प्रक्षेपण गरेको छ।

काठमाण्डूमा मंगलबार एशियन डेभलपमेन्ट आउटलुक २०१५ सार्वजनिक गर्दै ब्यांकले अघिल्लो वर्षको ५.२ प्रतिशत रहेको आर्थिक बृद्धिदरमा कमी आउने अनुमान गरेको हो।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको घट्दो मुल्य र भारतको पनि न्यून मुल्य बृद्धिले नेपालमा पनि यो वर्ष मुल्यबृद्धिमा कमी आउने आंकलन एडिबीको छ।

सरकारले हालै मध्यावधी समीक्षा गरेर आफूले पहिले गरेको आर्थिक बृद्धिदरको प्रक्षेपणलाई घटाएर ५ प्रतिशतमा सिमित हुने बताएको छ।

विश्लेषण

एडिबीले सार्वजनिक गरेको प्रक्षेपणले यस वर्षको बृद्धिदर त्यति पनि नभएर ४.६ प्रतिशतमा झर्ने अनुमान गरेको छ।

त्यस्तो अनुमान गरिनुको कारणबारे एडिबीको नेपालस्थित कार्यालयका अर्थशास्त्री चन्दन सापकोटाले भने, "२०१४/२०१५ मा प्रतिकुल मनसुनको कारणले कृषि उत्पादन घट्यो र राजनीतिक अवस्था पनि बिग्रदो अवस्थामा भएको विषयलाई विश्लेषण गर्दा यो वर्ष आर्थिक बृद्धिमा कमी आउँछ भन्ने प्रक्षेपण गरिएको छ।"

तर अर्को आर्थिक वर्षमा भने आर्थिक बृद्धिदर ५.१ प्रतिशत हुने उसको अनुमान छ।

एडिबीले मुल्यबृद्धि चाहिँ अर्थतन्त्रमा झिनो सुधार आइ सरकारले अनुमान गरेभन्दा कम हुने देखाएको छ।

कारण

अघिल्लो वर्ष ९ प्रतिशतभन्दा बढी रहेको मुल्यबृद्धि यस वर्ष ८ प्रतिशत भन्दा कम रहने ब्यांकको अनुमान छ।

त्यसको कारणबारे अर्थशास्त्री सापकोटाले भने, "अन्तर्राष्ट्रिय बजार र नेपालमै पनि तेलको मुल्य घटेको हुनाले अखाद्यमा एकदम द्रुतगतिमा मुल्यमा कमी आएको हुनाले हामीले मुल्यबृद्धि घट्ने अनुमान गरेका हौं।"

तर दक्षिण एशियाली मुलुकहरुसँग दाँज्ने हो भने नेपालमा अझै पनि सबैभन्दा बढी मुल्यबृद्धि रहेको देखिन्छ।

नेपालको आर्थिक बृद्धिदर अफगानिस्तान र पाकिस्तानभन्दा राम्रो र बाँकी मुलुकहरु भन्दा कम रहेको एडिबीले उल्लेख गरेको छ।