फुङलिङ आगलागी: क्षतिको विवरण संकलन शुरु

  • 24 मार्च 2015
आगलागी
Image caption ताप्लेजुङमा दमकल नभएकोले इलामबाट दमकल मगाइएको थियो, जुन ५ घण्टापछि मात्र आइपुगेको थियो

ताप्लेजुङ सदरमुकाम फुङलिङको सोमबार साँझदेखि भएको आगलागीका कारण प्रमुख व्यापारिक केन्द्र तोक्मे बजारमा नराम्रो क्षति पुगेको छ।

सोमबार साँझदेखि शुरु भएको आगलागी मंगलबार विहानसम्ममा पुरै नियन्त्रणमा आइसकेको थिएन।

छिमेकी जिल्लाबाट दुईवटा दमकल मंगलबार विहानीपख मात्र ताप्लेजुङ पुगेका थिए।

आगलागीबाट भएको क्षतिको यकिन विवरण आइसकेको छैन्।

दमकल अभाव

तीव्र वेगले हावा चलेको र पर्याप्त पानी समेत नभएकोले तत्काल आगो निभाउन नसक्दा उक्त क्षति हुन गएको प्रहरीले जनाएको छ।

मंगलबार विहानदेखि क्षतिको विवरण संकलन र आगलागी पीडितको उद्धारका कामहरु शुरु गरिएको थियो।

तोक्मेवजारको एक होटलबट शुरु भएको आगो क्षणभरमै दायाँ र बायाँ दुवैतर्फ फैलिएपछि स्थानीयबासीहरुमा रुवाबासी र भागदौड मच्चिएको थियो।

काठले बारेका र टिनको छानो भएका घरहरुमा एकपछि अर्को गर्दै आगो सल्किन थालेपछि स्थानियबासी, प्रहरी र नेपाली सेनाले आगो नियन्त्रण गर्ने प्रयास गरेका थिए।

तर दमकल नभएका कारण तत्काल आगो नियन्त्रण गर्न नसक्दा आगलागीबाट ताप्लेजुङको प्रवेशद्वार तोक्मेवजारका सम्पुर्ण घर पसलहरु जलेर ध्वस्त भएका छन्।

डोजर र स्काभेटर लगाएर साँझ नौ बजे आगो नियन्त्रण गरिएपनि हावा चलेका कारण आगो फैलिन थालेपछि ताप्लेजुङवासीहरु रातभर जागै बसेका थिए।

एकजना आगलागी पीडित भरतकुमार श्रेष्ठले बजारबासीले आफ्नो सामान समेत जोगाउन नसकेको बताए।

“हामीले लगाएको लुगा मात्र हो, धेरै जसो मानिसले आफ्ना सामान झिक्न पनि पाएनन्।”

आंकलन

सदरमुकामकै सबैभन्दा बाक्लो र प्रत्येक घरमा पसलहरु भएको तोक्मे क्षेत्रमा भएको आगलागीबाट करोडौं रुपैंयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौलाको भनाइमा क्षतिको विवरण संकलन कार्य शुरु गरिएको छ।

ताप्लेजुङमा दमकल नभएकोले इलामबाट दमकल मगाइएको थियो।

तर त्यो दमकल ५ घण्टापछि मात्र ताप्लेजुङ आइपुगेको थियो।

समयमै आगलागी नियन्त्रण गर्न नसक्दा यसअघि २०६० सालमा ताप्लेजुङ बजारकै वीरेन्द्रचोकमा रहेका ४५ घर जलेर नष्ट भएका थिए।

सदरमुकाम छेउकै दोखु गाविसमा गत वर्ष भएको आगलागीमा परी दुइ जनाको ज्यान गएको थियो।