यमनका विदेशमन्त्रीद्वारा हस्तक्षेप गर्न आग्रह

  • 24 मार्च 2015
तस्वीर कपीराइट Reuters
Image caption हूथी विद्रोहीलाई इरानको समर्थन रहेको साउदी अरेबियाले आरोप लगाउँदै आएको छ

यमनका विदेशमन्त्रीले राजधानीमाथि कब्जा जमाइसकेका शिया हूथी विद्रोहीहरुलाई मुलुकको दक्षिणी क्षेत्रमा अगाडि बढ्नबाट रोक्नका निम्ति हस्तक्षेप गर्न खाडी मुलुकहरुलाई आग्रह गरेका छन्।

हूथी विद्रोहीहरुले राष्ट्रपति अब्द राब्बुह मन्सुर हादीलाई गत महिना सत्ताच्यूत गरेका थिए।

हूथी विद्रोहीहरुले राजधानीमाथि कब्जा जमाएपछि राष्ट्रपति अब्द राब्बुह मन्सुर हादी भागेर बन्दरगाह शहर एडन पुगेका छन् र त्यहाँ अर्को सत्ता सञ्चालन गर्न थालेका छन्।

गत सप्ताहन्ततिर हूथी विद्रोहीहरुले यमनको तेस्रो ठूलो शहर ताइजमाथि कब्जा जमाएका थिए।

गृहयुद्ध

त्यसँगै उनीहरु एडन नजिक पुगेका छन्।

संयुक्त राष्ट्रसंघले यमन गृहयुद्धको संघारमा पुगेको चेतावनी दिएको छ।

साउदी अरेबियाको स्वामित्व भएको अशार्क अल अव्सात पत्रिकासँग कुरा राष्ट्रपति हादीका विदेशमन्त्री रिआद यास्सिनले गल्फ कोपरेशन काउन्सीललाई हस्तक्षेप गर्न आग्रह गरे।

यद्यपि हस्तक्षेपबारे उनले थप खुलाएनन्।

यमनमा उडानहरु गर्न नपाइने नो फ्लाइ जोन घोषणा गर्न पनि आफूले संयुक्त राष्ट्रसंघ र गल्फ कोपरेशन काउन्सीललाई आग्रह गरेको उनको भनाई थियो।

तस्वीर कपीराइट AFP
Image caption राष्ट्रपति अब्द राब्बुह मन्सुर हादीले एडेन शहरबाट सत्ता सञ्चालन गरिरहेका छन्

हूथी विद्रोहीको उदयले गल्फ कोपरेशन काउन्सीललाई खास गरी सुन्नी मुस्लिम नेतृत्वको साउदी अरेबियालाई चिन्तित बनाएको छ।

चेतावनी

हूथी विद्रोहीहरु शिया बाहुल इरानसँग नजिक रहेको आरोप लगाउँदै आएको छ।

तर उनीहरुले उक्त आरोप अस्वीकार गर्दै आएका छन्।

यसअघि सोमबार साउदी अरेबियाका विदेशमन्त्री साउद अल फैसलले यमनी राष्ट्रपति हादीलाई सघाउनका निम्ति खाडी मुलुकहरुले यमनमा कारवाही गर्न सक्ने चेतावनी दिएका थिए।

उनले भने, “यदि शान्तिपूर्ण रुपमा समस्याको समाधान भएन भने उनीहरुको आक्रमणबाट यस क्षेत्रलाई जोगाउन हामीले आवश्यक उपायहरु अवलम्बन गर्नेछौँ।”