'प्रक्रिया अघि बढाइए सहमतिमा फर्कन कठिन'

  • 25 मार्च 2015
तस्वीर कपीराइट bbc
Image caption बहुमतीय प्रकृयाविरुद्ध विपक्षी मोर्चाका सभासदहरुले संविधानसभा बैठक बहिष्कार गरिरहेका छन्

विपक्षी दलहरुले बहुमतीय प्रकृयाबाट संविधान लेखन अघि बढाइए सत्तापक्षसँग सहमतिमा संविधान जारी गर्ने मिलनविन्दु भेटाउन कठिन हुने चेतावनी दिएका छन्।

बिहीबार संविधानसभाका अध्यक्षले दलहरुबीच सहमति नजुटे आगामी आइतबार संविधानसभाको बैठक डाक्नेबारे आफूले निर्णय गर्ने बताएपछि उनीहरुको पछिल्लो प्रतिक्रिया आएको हो।

एक हप्ता अघि नेम्वाङले चैत ११ सम्म सहमति गरिसक्न दलहरुलाई आग्रह गरेका थिए।

तर त्यस यता दलीय संवादमा कुनै प्रगति नभएको भन्दै उनले चिन्ता व्यक्त गरिरहेका छन्।

तयारी

आफूले दिएको बुधबारसम्मको समयसीमा दलहरुले त्यत्तिकै गुजारेपछि संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले झन्डै डेढ महिनादेखि स्थगित संविधानसभाको बैठक आफैले बोलाउने तयारी गरेका हुन्।

संविधानसभामा रहेका मुख्य दलका प्रमुख सचेतकहरुलाई डाकेर उनले सहमतिको लागि अब धेरै कुर्न नसक्ने बताए।

उनले भने, “दलहरु बीच अब पनि कुनै सहमति भएन भने चैत्र १५ गते साँझ ५ बजे संविधानसभाको बैठक राख्ने बारेमा म आफ्नो निर्णय गर्छु।”

विपक्षी दलहरुको असहमतिका माझ बहुमतीय प्रकृया सुरु गरेका सत्तापक्षीय दलहरुले तत्काल संविधानसभाको बैठक बोलाउन सभाध्यक्षसँग माग गरिरहेका छन्।

चेतावनी

तर एकीकृत माओवादीको संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले बहुमतीय प्रकृया सुरु गरिए फेरि सहमतिमा फर्कन कठिन हुने बताए।

उनले भने, “प्रकृया अघि बढिसकेपछि फर्कन मिल्दैन। एकातिर परिवर्तनकारी शक्तिहरु आन्दोलनमा जाने अनि सत्तापक्षहरु प्रकृयामा अघि बढ्ने हो भने दुबैबीच मिलनविन्दु फेला पार्न निकै कठिन हुन्छ।”

कतिपय विपक्षी मोर्चाका नेताहरुले चाहिं आफूले तयार गरेको ९ बुँदे संयुक्त प्रस्तावमा पार्टी भित्रै चर्को असन्तुष्टि रहेका कारण सत्तापक्षीय दलहरुले संविधानसभाको प्रकृया अघि बढाउन आनाकानी गरिरहेको बताउदैँ आएका छन्।

त्यस्तै धारणा राख्ने मध्येका एक मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी, जनजाति र माओवादीको सहमति बेगर संविधान बनाइए त्यसले मुलुकको हित नगर्ने चेतावनी दिए।

अघिल्लो हप्ता संविधानसभाका अध्यक्षले सहमति जुटाउन एक हप्ताको समय दिए पनि यो बीचको अवधिमा सत्तापक्ष र विपक्षी बीच खासै कुराकानी भएको छैन।

तर चीन गएका एकीकृत माओवादी अध्यक्ष शुक्रबार स्वदेश फर्किए पछि संवाद अघि बढ्न सक्ने ठानिएको छ।