'यात्रुहरुको शव र भग्नावशेषको खोजी जारी'

  • 25 मार्च 2015
तस्वीर कपीराइट AFP
Image caption जर्मन विदेशमन्त्रीले घटनास्थलमा डरलाग्दो दृश्य देखिएको बताए

फ्रान्स, स्पेन र जर्मनीका नेताहरु मंगलबार एउटा जर्मन वायुयान दुर्घटनाग्रस्त भएको फ्रान्सको दुर्गम आल्प्स पर्वतीय क्षेत्रमा पुगेका छन्।

स्पेनको वार्सिलोनाबाट जर्मनीको डुसेलडर्फ तर्फ गैरहेको सो विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै एकसय पचासजनाको ज्यान गएको थियो।

त्यस क्षेत्रमा बाक्लो हिउँका साथै पानी पनि परिरहेकाले शवहरुको खोजीमा कठिनाइ पुगिरहेको बताइएको छ।

फ्रान्सका राष्ट्रपति, स्पेनका प्रधानमन्त्री तथा जर्मन चान्सलर बुधबार दिउँसो दुर्घटनाग्रस्त स्थलमा पुगेका थिए।

अनुगमन

उनीहरुले मृतकहरुको शव फेला पार्न भैरहेको कारवाहीको अनुगमन गरेका थिए।

घटनास्थलको हवाइ अवलोकन गरेका जर्मन विदेश मन्त्री त्यहाँ डरलाग्दो दृश्य देखिएको बताए।

फ्रान्सका गृहमन्त्रीले विमानको ब्ल्याक बक्स रेकर्डर भेटिएको बताए।

तर दुर्घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन।

उचाई लिइसकेपछि ८ मिनेटसम्म तल झरिरहँदा पनि उक्त विमानले समस्यामा परेको कुनै संकेत नपठाएको बताइएको छ।

यात्रुहरुमध्ये १६ जना जर्मन विद्यार्थीहरु एउटा शैक्षिक आदानप्रदान कार्यक्रममा सहभागी भई फर्किदै थिए।

शोक

सो विद्यालयमा शोकको वातावरण थियो।

पत्रकारहरुसंग कुरा गर्दै भावविह्वल भएका जोसेफ केनिग जिम्नेसियम विद्यालयका प्रधानाध्यापक उलरिच वेसेलले भने, "अब हाम्रो स्कूलमा पहिलेको जस्तो कहिल्यैपनि हुनसक्नेछैन। आफ्ना प्रिय छोरा, छोरी गुमाएका अभिभावकप्रति हाम्रो सहानुभूति छ। एकजना शिक्षिकाको भर्खरै बिहे भएको थियो। उहाँका पति अहिले हामीसंग हुनुहुन्छ। यो यस्तो त्रासदी हो, जसलाई शब्दमा वर्णन गर्न सकिंदैन।"

ती जर्मन विद्यार्थीहरुले स्पेनको गियोला माध्यमिक विद्यालयमा झण्डै एक साता बिताएका थिए।

त्यहाँ पनि स्मृति समारोह आयोजना गरिएको थियो।

मारिनेहरुमध्ये ७२ जना जर्मन तथा ३५ जना स्पेनीश यात्रुहरु भएको बताइएको छ।

त्यसबाहेक ब्रिटेन लगायत एक दर्जन अन्य मुलुकका नागरिकहरुपनि सो विमानमा यात्रा गरिरहेका थिए।

स्पेनमा तीन दिनसम्म राष्ट्रिय शोक मनाउने घोषणा गरिएको छ।

अवशेष

हेलिकोप्टरबाट खिचिएको एक टेलिभिजन चित्रमा विमानका अवशेष पहाडमा यत्रतत्र छरिएको देखिएको थियो।

ह्वाइट हाउसले आतंककारी हमलाका कारण सो दुर्घटना भएको हुनसक्ने अहिलेसम्म कुनै प्रमाण फेला नपरेको जनाएको छ।

सस्तो भाडादर भएको जर्मनीको प्रमुख हवाईसेवा प्रदायक लुफ्थान्साको स्वामित्वको जर्मनविङ्ग्सको सुरक्षा रेकर्ड उच्चस्तरको रहेको बताइन्छ।

एउटा फ्रान्सेली उद्धार टोली मंगलबार नै दुर्घटना भएको खोंचमा पुगेको थियो।