इन्जिनियरिङ शिक्षा क्षेत्रमा पनि बेथिति

  • 27 मार्च 2015
तस्वीर कपीराइट AP
Image caption इन्जिनियरिङ शिक्षामा समेत भौतिक पूर्वाधार र पढाउने जनशक्तिको अभाव रहेको बताइन्छ

डाक्टर गोविन्द केसीको अनसनका कारण चिकित्सा शिक्षा क्षेत्रमा रहेका विकृतिबारे छलफल भैरहँदा इन्जिनियरिङ शिक्षा क्षेत्रमा पनि बेथिति बढ्दै गएको पाइएको अधिकारीहरुले बताएका छन्।

इन्जिनियरिङ्ग शिक्षाको एउटा नियामक निकायका अध्यक्षले राजधानी काठमाडौंमा सञ्चालनमा रहेका इन्जिनियरिङ्ग कलेजमा समेत भौतिक पूर्वाधार र पढाउने जनशक्तिको अभावका कारण शैक्षिक गुणस्तर कायम गर्न चुनौति बढेको बताएका छन्।

एउटा शैक्षिक सत्रमा साढे आठ हजार विद्यार्थी पढाउने उनीहरुको क्षमता भएपनि बर्षेनी ती कलेजमा करिव ५ हजार विद्यार्थीहरु भर्ना भैरहेको सरकारी आँकडा छ।

गुणस्तर

मेडिकल कलेज संचालनमा जस्तै निजि इन्जिनियरिङ्ग कलेज खोल्न पनि शुरुमा शिक्षा मन्त्रालयबाट आशयपत्र लिनुपर्ने र त्यसपछि नेपाल इन्जिनियरिङ्ग परिषदबाट अनुमति पाएपछि मात्रै विश्वविद्यालयहरुले सम्बन्धन दिने व्यवस्था छ।

तर निजि कलेजहरुलाई सम्बन्धन दिँदा विश्वविद्यालयहरुले भौतिक पूर्वाधार र गुणस्तरलाई पर्याप्त ध्यान नदिने गरेको पाइएको छ।

इन्जिनियरिङ्ग कलेजहरुको अनुगमन गर्ने जिम्मा पाएको नेपाल इन्जिनियरिङ्ग परिषदका अध्यक्ष सत्यनारायण शाहले बीबीसीसँग भने,“जति भौतिक संरचना र पूर्वधार हुनुपर्ने त्यो छैन्, अध्यापन गराउने जनशक्तिको अभाव छ त्यही भएर काठमाण्डौँ सहितका स्थानमा एकै जना शिक्षकले एउटा भन्दा बढी कलेज पढाइरहनुपरेको छ, दक्ष शिक्षकको अभावमा उपत्यका बाहिरका कतिपय कलेजलाई टिक्न समेत गाह्रो भैरहेको छ।”

पूर्वाधार नपुगेका कलेजमा सन्चालित कतिपय कार्यक्रमहरु स्थगित गर्ने प्रक्रिया अघि बढाएको इन्जिनियरिङ्ग परिषदले जनाएको छ।

हाल देशभर सञ्चालनमा रहेका ४९ वटा इन्जिनियरिङ कलेज मध्ये झन्डै ३० वटा राजधानीमा मात्रै छन्।

अभाव

कतिपय निजि कलेजले आँफै इन्जिनियरीङको प्रवेश परिक्षा सञ्चालन गर्ने गरेको र विद्यार्थीको दक्षता भन्दा आर्थिक क्षमतालाई ध्यान दिएर भर्ना लिने गरेको आरोप लाग्ने गरेको छ।

तर इन्जिनियरिङ्ग अध्ययन संस्थान पुल्चोकका पूर्व डिन राजेन्द्रध्वज जोशीले कुनै वैज्ञानिक अध्ययन नभएकाले नेपालमा इन्जिनियरिङ शिक्षा खस्किरहेको भनिहाल्न नमिल्ने बताए।

उनले भने, “सबै कलेजहरुको पाठ्यक्रम एउटै खालको छ, परिक्षा सबैको एउटै हो, त्यहि भएर परिक्षाको नतिजा बाहेकबाट गुणस्तर देखिने नै भएन्, बजारमा गएका इन्जिनियरको दक्षता अध्ययन गरेपछि मात्र गुणस्तरबारे यकिन रुपमा भन्न सकिन्छ।”

कतिपय कलेजका प्रवेश परिक्षामा अनियमितता हुने गरेको आंशकामा पहिलो पटक आगामी शैक्षिक सत्रबाट त्यसको अनुगमन गर्ने निर्णय गरिएको इन्जिनियरिङ परिषदले जनाएको छ।