इंगल्याण्डका अधिकांश नदीको स्वास्थ्य खराब

  • 27 मार्च 2015
तस्वीर कपीराइट Getty
Image caption इंगल्याण्डका झण्डै बीस प्रतिशत नदी मात्र राम्रो स्वास्थ्यमा रहेको बताइन्छ

इंगल्याण्डको वातावरण निकायका अनुसार त्यहाँका जम्मा १७ प्रतिशत नदीको मात्र राम्रो स्वास्थ्य रहेको छ।

सन २०१४ मा २९ प्रतिशत स्वस्थ्य नदी थिए।

वातावरणवादीहरु भन्छन् यो विश्लेषण आघात पुर्याउने किसिमको छ।

नदीबाट खेतमा सिचाइ गर्न असाध्यै धेरै पानी झिक्नु, सडकहरुबाट नदीमा मिसिने पानी र ढलबाट बाहिर निस्कने पानीबाट भएको प्रदुषण नदी स्वास्थ्य विगार्ने मुख्य कारक रहेको बताइएको छ।

वातावरण निकाय इन्भार्नमेन्ट एजेन्सीले भनेको छ युरोपियन युनियनले नदीको स्वास्थ्य जाँचको मापदण्ड कडा पारेकाले यस्तो परिणाम आएको हो।

इयुले उसका सदस्य राष्ट्रहरुलाई खराब, मध्यम, राम्रो र उच्चस्तरको गरी चार श्रेणीमा विभाजन गर्न भन्छ।

सरकारहरुले आफ्ना नदी राम्रो बनाउने लक्ष्य राख्नुपर्छ।

त्यो भनेको मानव गतिविधिबाट तुलनात्मक रुपमा अप्रभावित राख्ने भन्ने हो।

नदीको उदगम स्थल वरीपरी पातलो जनसंख्या भएको ठाउँको नदीलाई उच्चस्तरमा राखिएको छ।

तथ्यांक अनुसार 0.08 प्रतिशत नदी उच्चस्तरको र 17.06 प्रतिशत नदी राम्रो स्वास्थ्य अवस्थामा छन्।

WWFका रोज ओनिलले तथ्यांक भयावह रहेको बताए। उनले भने हामीले सोचेको भन्दा नराम्रो छ यो अस्वीकार्य छ यसले बन्यजन्तु र जीविका माथि खतरा पैदा गर्छ।

हामी नदी बचाउने काममा विफल भइरहेका छौं।

सरकारले तत्काल कारवाही शुरु गरेर नदीहरुको स्वास्थ्य बचाउनुपर्छ पानी झिक्ने काम र प्रदुषण कम गर्नुपर्छ।

वातावरण निकायले यस अघि नदीहरुलाई रासायनिक परिक्षणका आधारमा जाँच गर्थ्यो।

तर अब नदीको स्वास्थ्य जाँच रासायनिक परिक्षणका साथ साथमा नदीको बहाव र जीवजन्तुको पनि परिक्षण गर्नुपर्छ।

र एउटा मात्र परिक्षणमा विफल भए नदीले राम्रो भन्ने श्रेणीमा पर्दैन।

एकजना प्रवक्ताले भने एजेन्सीले २ हजार माइल नदीको गुणस्तरमा सुधार ल्याएको छ या स्थीर बनाएको छ।

उनले भने एजेन्सीले किसानहरु व्यापरीहरु र पानी कम्पनीसँग जहाँ जहाँ संभव हुन्छ त्यहाँ प्रदुषण घटाउन र पानीको गुणस्तर बढाउन सँगसँगै काम गर्नेछ।

तर बन्य जन्तु समुहहरुले जहाँ संभव हुन्छ भन्ने वाक्यांशलाई अस्वीकार गरेका छन्।

उनीहरु भन्छन् एजेन्सी प्रदुषणकर्ता र अति धेरै पानी झिक्ने किसानहरुप्रति कडा हुनुपर्छ।