'नेम्वाङको सक्रियताले मुठभेड निम्त्याउने'

  • 29 मार्च 2015
Image caption दलहरुबीच सहमति नहुँदा संविधानसभाको बैठक अनिश्चित बनेको छ

संविधानका विवादित विषयमा सहमति गर्न संविधानसभाका अध्यक्षले पछिल्लोपटक दिएको समयसीमा आज सकिन लाग्दासम्म पनि प्रमुख दलहरु औपचारिक वार्ता गर्न विफल भएका छन्।

आज साँझ ५ बजे सम्म दलहरुले सहमति जुटाउन नसके आफु नरोकिने भन्दै सभाध्यक्ष सुवास नेम्वाङले संविधानसभाको बैठक डाक्ने संकेत गरिसकेका छन्।

तर आन्दोलनमा होमिएको एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चाले समयसीमापछि पनि सहमति विना बैठक डाकिए गम्भीर परिणाम उत्पन्न हुने चेतावनी दिएको छ।

सहयोग

दलहरुबीच सहमति नबनेपछि झण्डै डेढ महिनादेखि संविधानसभाको वैठक अनिश्चितकालका लागि स्थगित रहँदा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले सत्तारुढ दलहरु र विपक्षी मोर्चालाई गएको बुधाबारभित्रमा सहमति गरिसक्न र त्यसो नगरे संविधानसभा नियमावली अनुसार आफु अघि बढ्ने बताएका थिए।

तर प्रतिपक्षी दलहरुको नेतृत्व गरिरहेका एकीकृत माओवादीका नेता प्रचण्डले उक्त समयसीमालाई बेवास्ता गर्दै चीन गएपछि उनले आजसम्म समयसिमा बढाएका थिए।

यस पटक अलि कडा रुपमा प्रस्तुत भएका नेम्वाङले अब पनि सहमति नबने संविधानसभाको वैठक बोलाउने संकेत गरिरहँदा सत्तारुढ दोस्रो ठूलो दल नेकपा एमालेका नेता भीम रावलले त्यस्तो कदमलाई सहयोग गर्ने बताए।

उनले भने, “संविधानसभाको वैठक आव्हान हुन्छ भने हामी त्यो प्रक्रियालाई अगाडि बढाउन पुरा सहयोग गर्छौं। साथसाथै वार्ता र सहमतिका प्रयत्नहरु पनि अघि बढाउँछौं।”

उदेश्य

संविधानसभाका विवादित विषयमा सहमति जुटाउनेबारे छलफलका लागि हिजो पनि सत्तारुढ दलहरु नेपाली कांग्रेस तथा नेकपा एमाले र प्रतिपक्षी दल एकीकृत माओवादी र नेकपा एमालेका नेताहरुबीच छुट्टाछुट्टै अनौपचारिक छलफल भएको थियो।

तर दुवै पक्षहरु आ-आफ्ना अडानबाट टसको मस नभएपछि सत्तारुढ दलहरुले संविधानसभाको बैठक बोलाउने मनस्थिति बनाएको देखिन्छ।

तर अध्यक्ष नेम्वाङले वैठक डाकेमा मुलुक मुठभेड तर्फ जाने एकीकृत माओवादीका नेता हरिबोल गजुरेलले बताए।

उनले भने, “सभामुखले त्यसो गर्ने हो भने मुठभेड निम्त्याउने उदेश्य रहेको ठहर्छ। पहिलो संविधानसभामा उहाँले यस्तो हतारो गरेको भए नेपाली जनताले यस्तो दुख पाउने नै थिएनन्। अहिले अनावश्यक रुपमा सक्रिय हुन खोज्दा त्यसले राम्रो गर्दैन।”

दुवै पक्षहरुले सहमतिको रटान लगाईरहदा सहमतिकै लागि दबाव दिन भन्दै गएको ५ गतेदेखि आन्दोलन थालेको एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चाले आज जिल्ला सदरमुकामहरुमा लाठी जुलुस निकाल्ने तयारी गरिरहेको छ।