संयुक्त सैनिक फौज बनाउने सहमति

  • 29 मार्च 2015
तस्वीर कपीराइट AFP
Image caption विद्रोही हुथी समूहले यमनको राजधानी सानासहित ठूलो भुभागमा कब्जा जमाएका छन्।

यमनमा जारी तनावमा केन्द्रित रहेर छलफल गर्न डाकिएको अरब मुलुकहरुको शिखर सम्मेलनका क्रममा अरब लिगका सदस्य मुलुकहरु संयुक्त अरब सैनिक फौज बनाउन सहमत भएका छन्।

इजिप्टका राष्ट्रपति अब्दुल फतह अल सिसीले अरब नेताहरु एउटा संयुक्त सैनिक फौज बनाउन तयार भएको बताए।

अल सिसीले अरब क्षेत्रले अहिले हालसम्मकै ठूलो सुरक्षा खतरा व्योहर्न परिरहेको भन्दै यस्तो फौज गठनका लागि पहल गर्दै आएका थिए।

यमनमा जारी संकटबारे छलफल गर्न अरब मुलुकका प्रमुखहरु भेला भएका बेला उक्त फौज गठन सम्बन्धी सहमति बनेको छ।

आशंका

तर त्यो फौजले कसरी काम गर्छ वा कहिलेबाट काम थाल्छ भन्ने जस्ता प्रश्नहरु अनुत्तरित नै छन्।

सैनिक हस्तक्षेपप्रति संवेदनशील अरब क्षेत्रमा यो फौजको अवधारणाले प्रभावकारी रुपमा काम गर्ला भन्नेमा आशंकाहरु पनि व्यक्त भएका छन्।

तर साउदी अरेबियाको नेतृत्वमा एउटा संयुक्त फौजले अहिले पनि यमनमा हुथी भनिने शिया मुस्लिम विद्रोही विरुद्ध कारबाही गरिरहेको छ।

कारबाही

अरब लिगले भनेको छ हुथीहरुले हतियार नबुझाएसम्म र उनीहरुले कब्जा गरिराखेको क्षेत्रबाट पछि नहटेसम्म कारबाही जारी रहनेछ।

उक्त कारबाही यमनका राष्ट्रपति अबद्राबु मनसुर हदीलाई सहयोग गर्न थालिएको हो।

संवाददाताहरु भन्छन् यमनमा अहिले त्यहींकै पक्षहरुबीच द्वन्द्व जस्तो देखिए पनि खासमा सुन्नी बाहुल्य अरब मुलुकहरु र शिया बाहुल्य इरानबीचको तनाव त्यहां प्रतिविम्बित भएको छ।