सभाध्यक्षले डाके संविधानसभाको अर्को बैठक

  • 29 मार्च 2015
तस्वीर कपीराइट Surendra Phuyal
Image caption विपक्षी मोर्चाको माग अनुसार संविधानसभाको बैठक माघ २९ देखि स्थगित रहँदै आएको छ

संविधानका विवादित विषयमा सहमति खोज्न पछिल्लोपटक दिएको म्यादमा पनि दलहरुले कुनै निर्णय जुटाउन नसकेको भन्दै सभाअध्यक्षले डेढ महिनादेखि स्थगित संविधानसभाको बैठक अर्को साताका लागि तय गरेका छन्।

विपक्षी मोर्चाको घोषणा अनुसार आन्दोलनका थप कार्यक्रम जारी रहँदा यो समयमा पनि दलहरुबीच अझै सहमति होस् भन्ने आशयले बिना एजेन्डा बैठक तोकेको उनले बताए।

आइतबार सभाध्यक्षले आफ्नो निर्णय लिनुअघि सत्तापक्ष र विपक्षी नेताबीच छुट्टाछुट्टै छलफल भए पनि त्यसमा कुनै प्रगति हुन नसकेको उनीहरुले जानकारी दिएपछि आफूले यस्तो निर्णय लिएको बताए।

यसअघि गत बुधबार सभाध्यक्षले दलहरुलाई विवादित विषयमा सहमति जुटाउन म्याद दिँदै, आइतबारसम्म पनि कुनै निष्कर्षमा नपुगे आफू चुप लागेर नबस्ने प्रतिक्रिया दिएका थिए।

आशंका

उनले दलहरुलाई दिएको यो पछिल्लो समयमा पनि सहमतिको कुनै गुञ्जायस नदेखिएपछि आफ्नो पूर्ववत भनाइ अनुसार डेढ महिना भन्दा लामो समयदेखि स्थगित संविधानसभाको बैठक डाकेको सभाध्यक्ष सुवास नेम्वाङले बीबीसीलाई बताए।

उनले भने, "चैत २३ गतेसम्म उहाँहरुले विषयमा सहमति वा प्रकृयामा सहमति गरे म त्यही प्रकृया अनुसार संविधानसभा अगाडि बढाउँछु।"

यसअघि उनले माघ ११ गते प्रस्ताव निर्माण समिति गठन गरेर प्रकृया थालेदेखि नै असन्तुष्टि जनाउंदै एकीकृत माओवादी नेतृत्वको विपक्षी मोर्चाले आन्दोलनका घोषणाहरु चरणबद्ध गर्दै आइरहेको छ।

दोस्रो चरणको आन्दोलनका क्रममा आइतबारबाट देशभरका जिल्ला सदरमुकामहरुमा जुलुस, घेराउ लगायतमा विपक्षी मोर्चा केन्द्रित भइरहेका बेला सभाध्यक्षले दलहरुलाई सहमति जुटाउन अझै एकसाता दिएको बताए।

तर महिनौं वित्दा पनि विवादित विषयमा खासै प्रगति देखाउन नसकेका दलहरु यो एकसातामा पनि निचोडमा पुग्नेमा धेरैले आशंका गरेका छन्।

असन्तुष्ट

त्यसबारे सोध्दा नेम्वाङले भने, "कथमकदाचित उहाँहरुले सहमति गर्न सक्नुभएन भने मैले त्यतिबेला नियमबमोजिम अगाडि बढ्नुपर्छ।"

बहुमतीय प्रकृया सुरु भएदेखि सत्तापक्ष र विपक्षी मोर्चाबीच कायम लामो संवादहीनता पछि पटकपटकको प्रधानमन्त्रीको आह्वानबाट बीचमा केही समय औपचारिक/अनौपचारिक वार्ता भएका थिए।

तर ती पनि फलदायी हुन सकेनन्।

यस्तो अवस्था लम्बिदैं जांदा सभाध्यक्षले मिति तोकेरै संविधानसभाको बैठक डाकेका छन्, जसबाट विपक्षी मोर्चा थप असन्तुष्ट भएको देखिन्छ।