ली क्वान यूको अन्त्येष्टी

  • 29 मार्च 2015
तस्वीर कपीराइट AFP
Image caption सिंगापुरका संस्थापक नेता ली क्वान यूको आइतबार अन्तिम संस्कार गरिँदैछ

सानो टापु राष्ट्र सिंगापुरले ब्रिटिश उपनिवेश अन्तर्गतको व्यापार केन्द्रलाई स्वतन्त्र राज्य बनाएर चरम आर्थिक सफलतामा पुर्याएका आफ्ना नेता ली क्वान यूको आइतबार अन्तिम विदाइ गर्दैछ।

हप्ताभर देशको संसदमा राखिएका नेताको पार्थिव शरिर हेर्न शहरको धेरैजसो नागरिक लामबद्ध थिए।

आइतबार अबेर उनको पार्थिव शरिरलाई सिंगापुरका सडक हुँदै अन्तिम यात्रा गराइनेछ र निजी पारिवारिक समारोहमा समाधिस्थ गरिनेछ।

सिंगापुरस्थित बीबीसी संवाददाता जनाथन हेड भन्छन्- असाध्यै शान्त र सामान्यत: भावहीन जस्तो रहने शहरमा गत हप्ताभर नै सिंगापुरका पिता भन्न थालेका नेता लीको कृतिगानको चरम सीमा देखियो।

गुणगान

मानिसहरु उनको पार्थिव शरिरको दर्शन गर्न या समवेदना पुस्तिकामा हस्ताक्षर गर्न घन्टौं लामो लाइनमा बसे।

तस्वीर कपीराइट AP
Image caption सिंगापुरको संसदमा राखिएको दिवंगत नेताको शव हेर्नेहरुको साताभर लाम लाग्यो

ठूलो औपचारिक प्रचारमा उनले सिंगापुर बनाउँदा गरेको उपलब्धीको गुणगान गाइएको थियो र विद्यालयमा उनको जीवनबारे विशेष कक्षा अनिवार्य गरिएको छ।

केहि भिन्न मत राख्नेहरुले मात्र 'तानाशाह' लीका अँध्यारा पाटाहरु पनि रहेको भन्दै आलोचना गरेका छन्।

सरकार भव्य तर शान्त विदाइ जुलुशको आयोजना गर्दैछ जसलाई मानिसहरु सडकबाटै या सामुदायिक केन्द्रहरुमा राखिएका विशाल टेलिभिजनका पर्दाहरुमार्फत हेर्नेछन्।

गन्यमान्य

समारोहमा विश्वका दर्जनौं नेता र गन्यमान्य उपस्थित हुनेछन्।

सिंगापुरको लामो समयदेखि कट्टर समर्थक संयुक्त राज्य अमेरिकाले आफ्न पूर्व राष्ट्रपति बील क्लीन्टन र लीका नजिकका साथी रहेका पूर्व विदेश मन्त्री हेनरी किसिन्जर पठाएको छ।

जनाथन हेड भन्छन्- अन्त्येष्टी लगत्तै सिंगापुरेहरुले देशले लिने अबको बाटोबारे सोच्न थाल्नुपर्नेछ किनभने उनीहरुसँग स्वतन्त्रता समयदेखि देशमा दवदवा कायम राख्दै आएका विशाल व्यक्तिक्व रहेनन्।