इरान र शक्तिराष्ट्रबीच वार्ता जारी हुने

  • 31 मार्च 2015
तस्वीर कपीराइट AFP
Image caption अमेरिकी विदेशमन्त्री जन केरीले विवादित विषयहरुमा सहमतिको प्रयास भईरहेको बताएका छन्

इरानको परमाणु कार्यक्रमबारे मंगलबारको निर्धारित समयसीमा सकिनुअघि सम्झौता गर्न प्रयासरत शक्ति राष्ट्रका वार्ताकारहरु स्वीट्जरल्याण्डमा सोमबार अबेर रातिसम्म वार्ता गरेका छन्।

वार्ता मंगलबार विहानबाट फेरि लुजान शहरमा जारी रहने बताइएको छ।

६ वटा शक्ति राष्ट्रका विदेशमन्त्रीहरुले प्रतिबन्ध खुकुलो पार्ने बदलामा परमाणु गतिविधि सीमित पार्नका निम्ति इरानी प्रतिनिधिहरुमाथि दबाब दिएको बताइएको छ।

तेहरानले परमाणु हतियारको विकास गर्न नसकोस् भन्ने उद्देश्यका साथ उसको परमाणु गतिविधि सीमित पार्न शक्ति राष्ट्रहरुले दबाब दिएका हुन्।

अमेरिकी विदेशमन्त्री जन केरीले जटिल विषयहरुमा वार्ताकारहरुले सहमति खोज्ने प्रयास गरिरहेको बताए।

प्रतिबन्ध

लुजानस्थित वार्तास्थलमा रहेका बीबीसी संवाददाता भन्छन्- इरान उसमाथि लगाइएका प्रतिबन्धहरु छिट्टै हटाइयोस् भन्ने चाहन्छ तर पश्चिमा शक्तिहरु क्रमिक रुपमा प्रतिबन्ध हटाउने पक्षमा छन्।

जर्मन विदेशमन्त्री फ्र्याङक भाल्टर स्टाइन मायरले भने, “जे भएपनि हामीले कुनै कसर बाँकी छाड्ने छैनौं, मलाई लाग्छ इरानीहरुसहित हामी सबै आफ्नो साझा जिम्मेवारीबारे अवगत छौं।”

१८ महिनापछि सम्झौतामा पुग्ने आशामा ६ वटा शक्ति राष्ट्रका विदेशमन्त्रीहरुले आफ्ना इरानी समकक्षीसँग वार्ता गरिरहेका छन्।

तस्वीर कपीराइट GETTY
Image caption इरानी विदेशमन्त्री जवाफ जारिफले सम्झौता सम्भव रहेको प्रतिक्रिया दिएका छन्

इरानी र पश्चिमा अधिकारीहरुले सम्झौता सम्भव रहेको बताएका छन्।

तर केही विषयहरुमा अझै सहमति जुट्न बाँकी छ।

खाका

वार्तामा पी प्लस वान भनेर चिनिने संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का पाँच स्थायी सदस्य राष्ट्रहरु अमेरिका, ब्रिटेन, फ्रान्स, चीन र रुस तथा जर्मनीका विदेशमन्त्रीहरु सहभागी छन्।

इरानी विदेशमन्त्रीसँगको उक्त वार्तामा युरोपेली संघकी विदेश नीति प्रमुख पनि सहभागी छन्।

मंगलबार रातिसम्म राजनीतिक खाकामा सहमति जुटाउन वार्ताकारहरु प्रयासरत छन्, जसमा आधारित भई जुन ३० सम्ममा बृहत् सहमति हुने बताइएको छ।

दुई वटा प्रमुख विवादित विषयहरुमा कस्ता प्रतिबन्धहरु कहिलेसम्म हटाउनुपर्ने र इरानले अझै परमाणुसम्बन्धी के कस्ता अध्ययन र विकास गर्न पाउनुपर्ने भन्ने रहेका छन्।