नाइजेरीयाको निर्वाचनमा बुहारी विजयी

  • 1 एप्रिल 2015
समर्थकहरु तस्वीर कपीराइट AP
Image caption बुहारीले अब देशमा परिवर्तन ल्याउने उनका समर्थकहरुको बिश्वास छ

नाइजेरीयाको राष्ट्रपतिय निर्वाचनमा आफ्नो विजयलाई मुहम्मदु बुहारीले परिवर्तनका लागी खसेको मत र देशले प्रजातन्त्रलाई अंगीकार गरेको प्रमाण भनेका छन्।

उनले राष्ट्रपति गुडलक जोनाथनलाई करीब २० लाख मतले पराजीत गरेका थ‌िए।

निर्वाचित भए पछि बुहारीले पद छाड्न लागेका जोनाथनलाई शान्तीपूर्वक सत्ता छाड्ने एक योग्य बिपक्षी भनि प्रसंशा गरे।

बुहारीले भने,“म जोनाथनतर्फ मैत्रीको हात बढाउन चाहन्छु। उनीसित चाँडै भेटघाट हुनेछ। उनले म र मेरो टोलीबाट समझदारी, सहयोग र सम्मान पाउनेछन्।”

धाँधलीका आरोपहरु लागे पनि पर्यवेक्षकहरुले सामान्यतया यो चुनावको प्रशंसा गरेका छन्।

अल प्रोग्रेसिभ पार्टीका बुहारी नाइजेरीयामा राष्ट्रपतिय निर्वाचन जित्ने पहिलो बिपक्षी उम्मेदवार बनेका छन्।

ऐतिहासिक विजय

आफ्नो विजय भाषणमा बुहारीले यो घटनालाई ऐतिहासिक भनेका छन्।

खुशीयाली मनाइ रहेका उनका एक जना समर्थकले भने, “मानिसहरु भ्रष्टाचार, दण्डहीनता र असुरक्षाबाट थाकी सके। बुहारीले परिवर्तन ल्याउँछन् भन्ने हामीले विश्वास लिएका छौं।”

नाइजेरीयाको उतारचढावपूर्ण इतिहासमा यो एउटा महत्वपूर्ण क्षण बन्न पुगेको छ।

यस अघि बहाली राष्ट्रपति कहिल्यै पनि चुनावमा पराजित भएका थिएनन्।

सन् १९६० मा बृटेनबाट स्वतन्त्र भए यता नाइजेरीयामा अनेक सत्ता विद्रोहहरु भएका छन्।

सन् २०११ को चुनावमा केही सुधार भए पनि त्यस अघिका धेरै चुनावमा धाँधली भएको छ वा सेनाले चुनाव रद्द गराएको छ।

यस पटकको कडा प्रतिस्पर्धाको नतिजा लाखौं मतदाताहरुलाई मन नपर्न सक्छ।

तर यो संपूर्ण प्रक्रिया नाइजेरीयामा प्रजातन्त्र सुदृढ हुँदै गएको संकेत हो।

यो संकेतबाट अन्य अफ्रिकी राष्ट्रहरुलाई पनि पाठ मिल्न सक्छ।

अब मतदानबाट राजनीतिज्ञहरुलाई हटाउन संभव छ भनि नाइजेरीयालीहरुले बिश्वास लिन सक्छन्।