यमनको दोस्रो ठूलो शहर एडेनमा संघर्ष चर्किदै

  • 2 एप्रिल 2015
तस्वीर कपीराइट Reuters
Image caption साउदी अरेबिया नेतृत्वको हवाई आक्रमणबीच हूथी विद्रोहीहरु अघि बढिरहेको बताइएको छ

यमनको दोस्रो ठूलो शहर एडेनलाई हूथी विद्रोहीहरुले स्थानीय लडाकुहरुबाट नियन्त्रणमा लिने प्रयास गरेपछि त्यहाँ संघर्ष चर्किएको छ।

स्थानीय लडाकु र विद्रोहीबीच लडाइ चर्किदै जाँदा लडाइमा मारिनेहरुको संख्याबारे चिन्ता व्यक्त गरिएका छन्।

प्रत्यक्षदर्शीहरुका अनुसार विद्रोहीहरुले घेरा हाली आक्रमण गरिरहेको, लडाकुहरु घरका छतमाथि रहेको र शवहरु सडकमा देखिएका छन्।

साउदी अरेबिया नेतृत्वको गठबन्धन फौजले एक साताभन्दा बढी समयदेखि हवाई आक्रमण जारी राखेपनि स्थानीय लडाकु र विद्रोहीहरुबीच भीषण संघर्ष भईरहेको बताइएको छ।

वफादार

पूर्वराष्ट्रपति अलि अब्दुल्लाह सालेहप्रति वफादार मानिने हूथी विद्रोहीहरु वर्तमान राष्ट्रपति अब्दराब्बुह मंसुर हादी समर्थक फौजसँगको लडाइमा अगाडि बढिरहेको समाचारहरुमा जनाइएको छ।

बीबीसीका सुरक्षा संवाददाता फ्र्याङक गार्डनर भन्छन्, दक्षिणी बन्दरगाह शहरको केन्द्रमा विद्रोहीहरु ट्याङकसहित प्रवेश गरेको समाचारको पुष्टि भए यमनको महत्वपूर्ण क्षेत्रमा उनीहरु पकड जमाउन सक्ने देखिन्छ।

लडाइ जारी रहँदा मृतकको संख्याबारे चिन्ता बढ्दो छ।

तस्वीर कपीराइट epa
Image caption हूथी विद्रोहीहरु पूर्वराष्ट्रपति अलि अब्दुल्लाह सालेहप्रति वफादार रहेको बताइन्छ

परोपकारी संस्था मिद्सा सँ फ्रँतीयकी एकजना प्रवक्ताले एडेनस्थित उक्त संस्थाको अस्पतालमा दुई साताभित्र पाँच सयभन्दा बढी घाईतेहरु भर्ना भएको बताइन्।

हताहती

उक्त संस्थाकी प्रवक्ता मेरी एलिजाबेथ इंग्रेसले भनिन्, “धेरै मानिसहरु गोली लागी घाईते भएको देखिन्छ र केही मानिसहरु बम विष्फोटमा परी घाईते भएका छन्।”

समाचार संस्था एएफपीका अनुसार बुधबार खोर माक्सार जिल्लामा ६ जना सर्वसाधारणसहित कम्तीमा १९ जना मारिएका थिए।

सर्वसाधारणको बढ्दो हताहतीप्रति संयुक्त राष्ट्रसंघले पनि चिन्ता व्यक्त गरेको छ।