परमाणु कार्यक्रम सम्झौताको खाकामा सहमति

  • 3 एप्रिल 2015
तस्वीर कपीराइट BBC World Service
Image caption ६ शक्ति राष्ट्रका र इरानका विदेशमन्त्री लगायतले ८ दिनदेखि लुजानमा वार्ता गर्दै आएका थिए

विश्वका ६ शक्ति राष्ट्र र इरानबीचको लम्बेतान वार्तापछि इरानको भावी परमाणु कार्यक्रमको आकारसम्बन्धी सम्झौताको खाकामा स्वीट्जरल्याण्डमा सहमति भएको छ।

जसअनुसार इरानले आफ्नो युरेनियम प्रवर्द्धन क्षमतामा कटौती गर्नेछ र त्यसको बदलामा ऊविरुद्ध लगाइएका प्रतिबन्दहरु चरणबद्ध रुपमा हटाइने छन्।

अमेरिकी राष्ट्रपति बराक ओबामाले उनकै शब्दमा इरानसँग ऐतिहासिक सहमति भएको बताएका छन्।

खाकामा सहमति भएसँगै शक्ति राष्ट्रहरु र इरानले अब जुन ३० तारिखसम्म बृहत् सहमतिको प्रारुप तयार पार्ने उद्देश्य लिएका छन्।

कटौती

लुजानमा ८ दिनपछिको वार्तापछि युरोपेली संघ र इरानले सम्झौताको खाकामा सहमति भएको घोषणा गरेका थिए।

पी प्लस वान भनिने अमेरिका, ब्रिटेन, फ्रान्स, चीन, रुस र जर्मनी तथा इरानबीच यसअघि भनिएको मार्च ३१ तारिखसम्मको समयसीमा सकिएपछि पनि लुजानस्थित एक होटलमा वार्ता जारी थियो।

वार्तापछि अमेरिकाले सार्वजनिक गरेको विवरण अनुसार इरानले युरेनियम प्रवर्द्धनका लागि प्रयोग गर्न तयार पारिएका सेन्ट्रिफ्युजहरुमा दुई तिहाईले कटौती गर्नुका साथै कम प्रवर्द्धित युरेनियमको भण्डारणमा पनि कटौती गर्नेछ।

त्यसबाहेक प्रयोगमा नरहेका सेन्ट्रिफ्युजहरु अब भण्डारण गरिने छन् भने अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले इरानका सबै परमाणु कार्यक्रमको निरीक्षण गर्ने पाउने सम्झौताको खाकामा उल्लेख छ।

अमेरिकी राष्ट्रपति ओबामाले सम्झौताको कार्यान्वयनलाई नजिकबाट नियालिने बताए।

प्रारुप

तस्वीर कपीराइट BBC World Service
Image caption सम्झौतापछि परमाणु ईन्धन बनाउने प्रतिस्पर्धा शुरु हुने साउदी अरेबियाले प्रतिक्रिया दिएको छ

उनले भने, “यदि इरानले धोका दिन्छ भने विश्वले थाहा पाउने छ।”

ओबामाले उनकै शब्दमा सम्झौता विश्वासमा आधारित नभई अभूतपूर्व प्रमाणीकरणमा आधारित रहेको बताए।

ओबामाको भनाईलाई इरानी टेलिभिजन आइआरआइएनएनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो, जुन इरानमा बिरलै हुने घटना हो।

सम्झौतापछि राजाधानी तेहरानमा खुसियाली मनाइएको छ।

इरानी विदेशमन्त्री जवाद जारिफले ट्वीट गरेका छन्, “समाधान निकालियो, छिट्टै सहमतिको प्रारुप बनाउन तयार छौं।”