केन्यामा पाँचजना पक्राउ

  • 4 एप्रिल 2015
तस्वीर कपीराइट INTERNET
Image caption अल सबाब समूहले केन्यामा मुसलमानहरुमाथि ब्यापक दमन गरिएको आरोपसमेत लगाएको छ।

इस्लामी विद्रोही समूह अल शबाबद्वारा केन्याको एक विश्वविद्यालयमा हमला गरी १ सय ४८ जनाको ज्यान लिएको घटनालाई लिएर पाँचजना पक्राउ परेका छन्।

आन्तरिक सुरक्षा मन्त्रालयले ती मध्ये तीन जना उत्तरी शहर गरीसामा भएको हमलाका संयोजक भएको जनाएको छ।

अल शबाब समूहले केन्यामा दीर्घकालिन र घातक युद्ध जारी राख्ने चेतावनी दिएको छ।

पक्राउ परेकाहरुमध्ये केही छिमेकी सोमालिया तर्फ भाग्दै गर्दा समातिएको आन्तरिक सुरक्षा मन्त्रालयले जनाएको छ।

आलोचना

ती मध्ये एक सुरक्षा गार्ड रहेको बताइएको छ।

विश्वविद्यालयमा भएको हमलामा बचेका विद्यार्थीहरुलाई बसहरुले उनीहरुको घरतर्फ ओसार्न थालेका छन्।

ज्यान जोगाउन एउटा दराजभित्र लुकेर बसेकी एक छात्रालाई घटनाको ५० घण्टापछि शनिबार फेला पारिएको थियो।

१९ वर्षीय ती छात्रालाई विश्वास दिलाउन त्यहाँ खटिएका सुरक्षाकर्मीहरुले शिक्षकलाई बोलाउनु परेको थियो।

त्यसपछि मात्रै उनी दराज बाहिर निस्किइन्।

लुकेर बसेको बखत भोक मेटाउन शरीरमा लगाउने बडी लोशन पिएको उनले बताइन्।

आरोप

सोमाली सीमाभन्दा डेढ सय किलोमिटर पर रहेको केन्याली शहर गरिसामा उक्त हमला भएपछि त्यहाँको सुरक्षा निकायका कदमबारे आलोचना भएका छन्।

उच्च शिक्षाका संस्थामा हमला हुने आधिकारिक चेतावनीहरु पहिले नै दिइएको भए पनि हमलाका दौरान केवल दुई सुरक्षा गार्ड ड्युटीमा रहेको बताइएको छ।

विश्वविद्यालयमा गरिएको हमलाको जिम्मा लिएको अल शबाब समूहले भनेको छ, उसले केन्याली सुरक्षा फौजले सोमालियामा आफुविरुद्ध चलाएको कारवाहीको बदलामा सो हमला गरेको हो।

केन्याली फौज सोमालियामा कार्यरत अफ्रिकी युनियनको मिशनमा सामेल छ।

उक्त समूहले केन्यामा मुसलमानहरुमाथि व्यापक दमन गरिएको आरोप समेत लगाएको छ।