संविधानसभाको बैठक रोकिदैन: नेम्वाङ

  • 6 एप्रिल 2015
तस्वीर कपीराइट bbc
Image caption दलीय असहमतिका कारण संविधानसभा बन्धक हुन नहुने नेम्वाङले बताएका छन्

स्थगित भएको झण्डै दुई महिनापछि सोमबार दिउँसो बस्ने भनिएको संविधानसभाको बैठक नेकपा एमालेका नेता एवम् पूर्वसांसद रामनाथ ढकालको आईतबार निधन भएका कारण श्रद्धाञ्जली सभा मात्रै गरेर टुङ्गिने भएको छ।

तर त्यसपछि भने सहमति नभएका कारण संविधानसभामा उपस्थिति नजनाउने विपक्षी एकीकृत माओवादीले अडान राख्दै आएपनि बैठकले निरन्तरता पाउने संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले बताएका छन्।

अध्यक्ष नेम्वाङले दलहरुलाई पटक-पटक समय सीमा तोकेर संविधानका विवादित विषयमा सहमति गर्न अनुरोध गरेपनि दलहरुले सहमति नगरेपछि झण्डै दुई महिनादेखि अनिश्चितकालका लागि स्थगित भएको बैठक सोमबार दिउसो १ बजे बस्ने गरी बोलाएका थिए।

दलहरुबीचको असमझदारीका कारण अनन्त कालसम्म संविधानसभालाई बन्धक बनाउन नमिल्ने भन्दै सोमबार बैठक बोलाईए पनि एमाले नेता एवम् पूर्वसांसद रामनाथ ढकालको आईतबार निधन भएका कारण स्थापित मान्यता अनुसार कुनै एजेण्डामा प्रवेश नगरी श्रद्धाञ्जली प्रस्ताव पारित गरेर टुङ्गिने बताइएको छ।

निरन्तरता

तर सत्तारुढ दलहरुसँग सहमति नभएका कारण यसअघि नै एकीकृत माओवादी सहितको मोर्चाले बैठकमा उपस्थित नहुने र आन्दोलन जारी राख्ने बताई सकेको छ।

तर उसको विरोधको बावजुद आजबाट सुचारु हुने संविधानसभाको बैठकले निरन्तरता पाउने नेम्वाङले बताए।

उनले भने, “संविधानसभाले आफ्नो बैठक आन्दोलन हुन्छ कि हुँदैन अथवा संविधानसभा बाहिर के हुन्छ भन्ने आधारमा होईन, आफ्नो अघि रहेको स्थितिलाई ध्यानमा राखेर गर्छ, त्यसैले अर्को मिति तोकेर सोमबारको बैठक सर्छ।”

सत्तारुढ र प्रतिपक्षी दलहरुबीच संविधानका मुद्दाहरुमा मतभेद श्रृजना भएपछि गएको माघ २९ गतेदेखि संविधानसभाको बैठक स्थगित भएको हो।

समयसीमा

दलहरुले एक महिनासम्ममा पनि सहमति नगरेपछि चैतको पहिलो हप्ता अध्यक्ष नेम्वाङले प्रधानमन्त्री सहित सत्तारुढ र प्रतिपक्षी दलका शीर्ष नेताहरुलाई चैत ११ गतेभित्र सहमति गर्न समयसीमा दिएका थिए।

तर दलहरुले सहमति जुटाउन नसकेपछि चैत १५ गतेको म्याद तोकेर त्यसपछि आफुले नपर्खिने चेतावनी दिएका थिए।

प्रतिपक्षी दलहरु आन्दोलन गर्ने भन्दै सडकमा र सत्तारुढ दलहरु प्रक्रिया अनुसार अघि बढ्ने निष्कर्षमा पुगेपछि सोमबारको लागि अध्यक्ष नेम्वाङले बैठक बोलाएका थिए।

सत्तारुढ दलहरु बैठकमा आउने र एकीकृत माओवादी सहितको मोर्चाले बहिष्कार गर्द दुई पक्षबीच ध्रुवीकरण बढ्नै आशंकाका माझ दलहरुले सहमतिका लागि समय मागे संविधानसभाको बैठक पुन: स्थगित गर्नेबारे सोच्न सकिने अध्यक्ष नेम्वाङको भनाई छ।