संविधानसभामा लैजान षडयन्त्र हुदैछ: विपक्षी

  • 5 एप्रिल 2015
तस्वीर कपीराइट bbc
Image caption सहमति नभएपछि विपक्षी मोर्चाले आन्दोलनको बाटोबाटै सहमति खोजिने जनाएको छ

संघीयता सम्बन्धी विवादबाहेक अन्य विषयहरुलाई मात्र तत्काल प्रक्रियामा लैजाने सत्ताधारीदलहरुको प्रयास आफुहरुलाई मान्य नहुने मुख्य विपक्षी एकीकृत नेकपा माओवादीले जनाएको छ।

सहमतिका लागि भन्दै सत्तापक्षीय दलहरुले छलफलमा ‍ल्याएको यस्तो विकल्प सहमतिका लागि नभै आफुहरुलाई प्रक्रियामा छिराउने षडयन्त्र भएको उसको भनाई छ।

सत्ताधारी दलहरुले भने आफुहरुको यो प्रयास विपक्षीले मानेमा संविधानसभा पनि संचालन हुने र विवादित विषयको छलफल पनि अघि बढ्ने बताएका छन्।

उदेश्य

सहमतिबाटै संविधान जारी हुने कुराको निश्चितता नभएसम्म वार्तामा समेत नबस्ने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको विपक्षी मोर्चालाई संविधानसभामा ल्याउने प्रयासमा आफुहरु लागि रहेको सत्तापक्षीय दलहरुले बताउँदै आएका छन्।

सोही प्रयास अनुरुप शुक्रवार बसेको उनीहरुको बैठकमा सहमति भएका विषयहरुलाई प्रक्रियामा लैजाने र विवादित विषयमा दलहरुबीच छलफल गर्दै जाने प्रस्तावमा छलफल गरिएको बताइएको छ।

तर उक्त प्रयासलाई विपक्षी दलहरुले मान्य नहुने भन्दै आफुहरुलाई संविधानसभाको प्रक्रियामा फसाउने षडयन्त्रको रुपमा त्यसलाई चित्रण गरेका छन्।

विपक्षी मोर्चाको नेतृत्व गरीरहेको एकीकृत नेकपा माओवादीका सचिव टोप बहादुर रायमाझीले भने "प्रक्रियालाई अगाडी बढाएर, हामीलाई प्रक्रियामा छिराउने त्यसपछि सहमति भएका कुरालाई पनि असहमतिमा लाने र पुरानै ९ बुँदे प्रस्तावलाई पास गराउन यसको उद्देश्य हो।"

केही विषयमात्रै टुङगो लगाएर संविधान जारी नहुने भएकाले सबै विषयमा सहमति जुटाएरै मात्रै सहमति भएका विषयलाई संविधानसभामा लैजानु पर्ने मोर्चाको धारणा रहेको उनले बताए।

सहमती

संधै कुरेर बस्दा संविधानसभा कामविहीन हुने भएकाले सहमतिको बाटोलाई पनि खोल्ने र संविधानसभाले सहमति भएका विषयमा काम गर्दे जानेगरि यस्तो प्रस्तावमा छलफल गरिएको नेकपा एमालेका प्रमुख सचेतक अग्नि खरेलको भनाई छ।

उनले भने "संविधानसभामा बसौं छलफल गरौं र सहमति पुर्वकै जे विषयलाई अगाडी लैजान सकिन्छ त्यसलाई अहिले नै लैजाँउ, सहमति नबनेका विषयका लागी अलिकति समय राखेर छलफल गरौं भन्ने कुरा नाजाय हुन सक्दैन्।"

आफुहरुले विगतमा प्रस्तुत गरेको ९ बुँदे प्रस्तावमा तलमाथी गर्न तयार रहँदा र सहमतिका लागि अनेक विकल्प प्रस्तुत गर्दा पनि विपक्षी मोर्चाले नमान्दा समस्या बढ्ने भनाई छ, नेपाली कांग्रेसका नेता रमेश लेखकको।

उनले भने "हामीले सहमतिका सबै खाले विकल्पहरु प्रस्तुत गर्दा पनि अव सहमति भैरहेको छैन, सहमति गर्नु पर्ने ३० दलियमोर्चाले सहमति नगरे पछि हामीले मात्र विकल्प प्रस्तुत गरेको अर्थ भएन।"

दलहरुका बीचमा अनेक विकल्पमा छलफल भएको बताइँदै गर्दा विपक्षी मोर्चाको विरोधका माझ संविधानसभाको बैठक सोमबारका लागि डाकिएको छ।